• ५ जेठ २०८१, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

blog

लीलाराज खडका

बिर्तामोड, पुस १२ गते । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै पालिकामा न्यूनतम पारिश्रमिकमा कामको थालनी गर्दै काममा दक्षता हासिल गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कार्यक्रमको सुरुवात गरेकोे बताउनुभयो ।

नगरप्रमुखले सहभागीहरुले कामलाई ठूलो सानो नठानी नगरको विकास हातेमालो गर्न अनुरोध गर्नुभयो । श्रमिकले एक सय दिनको कामका लागि ६७ हजारभन्दा बढी रकम प्राप्त गर्ने जानकारी गराइएको छ । 

त्यस्तै, उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले कामसँगै सीप सिक्ने पन अवसर पाउने भएकाले सोको सदुयोग गर्न अनुरोध गर्नुभयो । नगरपालिकाको रोजगार कार्यक्रममा काम गरेका श्रमिकले भोलि कुनै पनि ठाउँमा काम गर्नसक्ने भन्दै कार्कीले यसलाई पैसाका लागि मात्र नभएर आफूलाई दक्षता हासिल गर्ने थलोको रुपमा लिन समेत सबैलाई अनुरोध गर्नुभयो । आगामी दिनमा ठूला योजना बनाएर नगरपालिकाले सबै श्रमिकलाई एकै ठाउँमा काम गर्ने वातावरण मिलाउने कार्कीको भनाइ थियो ।   

प्रधानमन्त्री रोजगार कार्यक्रम एक सय दिन चल्ने रोजगार संयोजक विदुर तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार एउटा कामदारले जम्मा ६८ हजार ८ सय रकम प्राप्त गर्नेछन् । नगरपालिकाका गरिब तथा विपन्न परिवारका ६७ जनालाई पहिलो चरणमा काममा लगाइने भएको छ । 

अभिमुखीकरण कार्यक्रममा श्रमिकहरुलाई काम गर्दै जाँदा आइपर्ने समस्या र त्यसको समाधानका विषयमा आधारिक पाठ्यक्रम अनुसार तालिम प्रदान गरिएको छ भने श्रमिकलाई कामका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री, औजार वितरण गरिएको रोजगार सृंयोजक तिम्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, लेखा अधिकृत प्रकाश योङ्गहाङलगायतले युवालाई राम्रो काम गरेर नगरको विकासमा साझेदारी बन्न सुझाव दिनुभयो ।