कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रेमिट्यान्स, शोधनान्तर बचत र विदेशी मुद्रा निरन्तर बढ्दै

अर्थविद् भन्छन्– ‘गत वर्ष र अघिल्ला महिनाको तुलनामा गत कात्तिकमा मूल्यवृद्धिमा कमी आए पनि उत्पादन घटिरहेको र समग्र माग बढ्न नसक्नुले अर्थतन्त्र संकटमा रहेको संकेत गर्छ’
यज्ञ बञ्जाडे

काठमाडौँ — रेमिट्यान्स आप्रवाह, शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चितिलगायत सूचक निरन्तर सबल बनिरहँदा सरकारको राजस्व, पुँजीगत खर्च र वैदेशिक ऋण तथा सहायताका सूचक अपेक्षित रूपमा बढ्न नसकेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।

रेमिट्यान्स, शोधनान्तर बचत र विदेशी मुद्रा निरन्तर बढ्दै

बिहीबार सार्वजनिक गत कात्तिकको समग्र वित्तीय तथा आर्थिक प्रतिवेदनले अर्थतन्त्रको बाह्य क्षेत्र सबल बनिरहँदा सरकारी वित्तमा अपेक्षित सुधार हुन नसकेको देखाएको हो ।

गत वर्ष र अघिल्ला महिनाको तुलनामा गत कात्तिकमा मूल्यवृद्धिमा कमी आए पनि उत्पादन, उत्पादकत्व घटिरहेको र समग्र माग बढ्न नसकिरहेका त्यसले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद् बताउँछन् । निजी क्षेत्रको मनोबल खस्किएकाले उनीहरूको आत्मविश्वास बढाउन राज्यबाट भरपूर प्रयास हुनुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना (गत साउनदेखि कात्तिकसम्म) १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ विदेशी मुद्रा (विनिमय) सञ्चिति थपिएको छ । गत असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति कात्तिकसम्म आइपुग्दा १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत कात्तिकसम्म ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । उल्लिखित विदेशी मुद्रा सञ्चितिले ११.३ महिनाका लागि आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

गत कात्तिकसम्म शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत कात्तिकसम्म १ अर्ब ११ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गए पनि सरकारी वित्ततर्फ अपेक्षित सुधार नदेखिएको राष्ट्र बैंक अनुसन्धान विमाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘बाह्य क्षेत्र सुधारको दिशातर्फ अघि बढिरहेको छ । घटिरहेको ब्याजदर थप घटने क्रममा छ,’ उनले भने, ‘तर, सरकारी वित्तमा सामान्य सुधार छ, राजस्वमा वृद्धि गएको महिनादेखि सकारात्मक हुन थालेको छ । यद्यपि लक्ष्यअनुसार हुन सकेको छैन ।’

चालु आर्थिक वर्षको ४ महिनामा रेमिट्यान्समार्फत ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६.४ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ थियो ।

पछिल्लो तथ्यांकले अर्थतन्त्रमा ठूलो समस्या आएको देखिने अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको दाबी छ । सुधारका लागि तत्काल पहल नगरिए थप ओरालो लाग्नबाट अर्थतन्त्रलाई जोगाउन मुस्किल पर्ने उनको भनाइ छ । अर्थतन्त्रमा सबै सूचक राम्रो भइदिए मूल्य घट्नुलाई राम्रो मानिने भए पनि अहिले आर्थिक गतिविधि सुस्ताएका बेला मूल्यवृद्धिमा पनि कमी आउने डरलाग्दो संकेत भएको उनले बताए । ‘यस्तो अवस्थामा धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउन सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय पुँजी निर्माणमा ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्न पनि सरकारले ठूलै प्रयास गर्नुपर्छ, जुन अहिले हुन सकेको छैन ।’

अर्थतन्त्रलाई चलायमान बनाउन पुँजी बजारमा क्रमिक सुधार अत्यावश्यक रहेको पनि थापाले जनाए । ‘जीडीपीको अनुपातमा कर राजस्व १६ प्रतिशतमा झरेको छ, यो निकै कम हो । यस्तो मुलुकले विकास गर्न सक्दैन,’ उनले भने, ‘समग्रमा राजस्व परिचालन चौपट छ, पुँजीगत खर्च हुन सकेको छैन, किन यस्तो भयो ? सुधार किन हुन सकेको छैन ?’ समस्या मौद्रिक नीतिबाहेक अरू क्षेत्रमा छन्, त्यहाँ सुधारका लागि पहलकदमी भएको छैन ।

गत कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५.३८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको मूल्यवृद्धि दरमा सुधार भएको हो । गत आर्थिक वर्षको कात्तिकमा औसत मूल्यवृद्धि दर ८.०८ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.०१ र गैरखाद्य तथा सेवा समूहको ४.८९ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६, चिनी तथा चिनीजन्य वस्तुको १४.५९, फलफूलको १४.०१, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ र दुग्ध पदार्थ तथा अन्डाको ११ प्रतिशतले बढेको छ । घिउ, तेल र तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ र ५.३५ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४, विविध वस्तु तथा सेवाहरूको १०.७६, शिक्षाको ८.९२, फर्निसिङ तथा घरायसी उपकरणको ५.२७ र कपडाजन्य तथा जुत्ताचप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : मंसिर २९, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?