रूस र युक्रेनबीचको युद्धमा परेका नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । नेपालीहरू विभिन्न गैरकानुनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएको र अझै पनि सयौँको संख्यामा नेपालीहरू रूस र युक्रेन दुवै तर्फको सेनामा कार्यरत रहेको भनी जानकारी आएको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण भएको जनाएको छ । 

रूस र युक्रेनबीचको युद्धमा परेका नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन र घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्नसमेत सरकारलाई आग्रह छ ।’

आयोगले रूसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको संख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिएको भन्दै उनीहरू जहाँ, जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने स्मरण गराएको छ ।

प्रकाशित : पुस १, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?