• ३१ वैशाख २०८१, सोमबार

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

blog

कटारी (उदयपुर), मङ्सिर २९ गते । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । 

त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ । “कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ”, उहाँले भन्नुभयो, “शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो ।”

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनः एकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ । नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा सुरु भएको छ ।

स्वीजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्फत सुरु भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताउनुभयो । 

“परियोजनाको सुरुआती चरण सुरु भएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “वडा नम्बर ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुआत गरेका छौँ ।” परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरु मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरुपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताउनुभयो । नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरु बस्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरुआत गरेको हो । रासस