१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेश जाने श्रमिक ३६२ प्रतिशतले बढे, रेमिट्यान्स २७ प्रतिशत मात्रै वृद्धि

०७७/७८ मा एक लाख ६६ हजार र ०७९/८० मा सात लाख ७१ हजार नेपाली गए वैदेशिक रोजगारीमा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo

कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को पूर्वसन्ध्यामा नेपाल ट्रेड युनियन महासंघले एक प्रतिवेदन प्रकाशित गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको अनुपातमा रेमिट्यान्स अप्रवाहको दर निकै कम वृद्धि छ । आर्थिक वर्ष ०७७/७८ मा एक लाख ६६ हजार ६ सय ९८ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । आव ०७९/८० मा भने सात लाख ७१ हजार तीन सय २७ नेपाली बिदेसिएका छन्  । यो संख्या दुई आर्थिक वर्षको तुलनामा ३६२ प्रतिशतले बढी हो । आव ०७८/७९मा ६ लाख ३७ हजार विदेशिएका थिए । तर, रेमिट्यान्स आप्रवाह भने समीक्षा अवधिमा २७ प्रतिशत मात्रै बढेको तथ्यांक छ । आव ०७९/८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आव ०७७/७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।  

बिदेसिने कामदारको संख्या मात्रै होइन, दक्ष कामदारको संख्या पनि वृद्धि भएको छ ।   विभागको तथ्यांकअनुसार आव ०७७/७८ मा वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ४२.२४ प्रतिशत दक्ष जनशक्ति थिए । आव ०७८/७९ मा ४६.३२ प्रतिशत गए भने आव ०७९/८० मा ६५.६९ प्रतिशत दक्ष कामदार रोजगारीमा गएका छन् । दक्ष कामदार रोजगारीमा जाँदा मुलुक भित्रिने रेमिट्यान्स वृद्धि हुनुपर्ने हो । तर, यसले पनि रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव नदेखिएको महासंघले जनाएको छ । 

बिदेसिने कामदार बढे पनि रेमिट्यान्स नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने जिफन्टले जनाएको छ । दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि रेमिट्यान्सको अनुपात नबढेको जिफन्टको जिफन्टका उपाध्यक्ष जनक चौधरीले बताए । 

 युरोप आकर्षण बन्दै
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ । रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली कामदार मोडिन थालेको महासंघको प्रतिवेदनमा उल्लेख छ । विभागको तथ्यांकअनुसार गत आव ०७९/८० मा १४ हजार दुई सय २५ नेपाली कामदार रोमानिया गए । आव ०७८/७९ मा सात हजार चार सय ७४ र आव ०७७/७८ मा दुई हजार ९९ जना रोमानिया पुगेको तथ्यांक  छ । 

त्यस्तै, युरोपियन मुलुकमध्ये नेपाली कामदारको रोजाइमा दोस्रो परेको मुलुक क्रोएसिया हो । आव ०७९/८० मा सात हजार चार सय ४१ जना नेपाली कामदार गएको तथ्यांक छ । आव ०७८/७९ मा पाँच हजार तीन सय ४४, आव ०७७/७८ मा भने एक हजार ९४ जना नेपाली कामदार गएको देखिन्छ । आव ०७९/८० माल्टा जानेको संख्या ६ हजार तीन सय तीन छ । आव ०७८/७९ मा एक हजार नौ सय १५, आव ०७७/७८ मा भने तीन सय १५ जना गएका थिए । 

यसका साथै आव ०७९/८० मा पाँच हजार तीन सय १७ जना साइप्रस, पाँच हजार एक सय १२ जना पोल्यान्ड, दुई हजार दुई सय ६४ जना बेलायत गएको तथ्यांकले देखाउँछ । आव ०७८/७९ मा भने चार हजार एक सय ८१ जना साइप्रस, एक हजार आठ सय ५५ र दुई हजार आठ सय १४ जना बेलायत गए । आव ०७७/७८ मा भने एक हजार दुई सय ५५ जना साइप्रस, सात सय पाँचजना पोल्यान्ड र तीन सय १७ जना बेलायत पुगेका छन् । 

वैदेशिक अध्ययनका लागि मात्रै चालू आवमा १० हजार दुई सय १७ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । गत आवमा एक सय ११ वटा मुलुकका लागि एक लाख १० हजार दुई सय १७ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको तथ्यांक छ ।  वैदेशिक अध्ययनका लागि जानेमध्ये अष्ट्रेलिया जाने अधिक ३३ हजार नौ सय ९१ जना छन् । २१ हजार ६ सय ५८ जनाले क्यानडा, १० हजार पाँच सय २७ जनाले जापान जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । कोरिया अध्ययनका लागि तीन हजार ४६ जनाले लेटर लिए भने युएई अध्ययनका लागि ३८ हजार ६ सय ६ जनाले लेटर लिएको तथ्यांक छ । 

 आठ महिनामा दुई सय तीन पीडितको उजुरी 
वैदेशिक रोजगारीमा जाने कामदारमध्ये पछिल्लो आठ महिनामा दुई सय तीनजना पीडितले जिफन्टमा उजुरी दिएका छन् । सो अवधिमा जिफन्टमा ७८ वटा उजुरी परेका छन् । जिफन्टले नेपालबाहिरका कामदारलाई सहयोग गर्न गन्तव्य मुलुकको कानुन पालना हुने गरी जिफन्ट सहयोग समूह बनाई श्रमिकको समस्या समाधान गर्ने विधि अवलम्बन गरेको छ । अहिले दक्षिण कोरिया, मलेसिया, कतार, कुवेत, बहराइनमा जिफन्ट सहयोग समूह क्रियाशील छन् । जोर्डन, लेबनानमा स्थानीय युनियनसँग जोडेर नै काम गर्ने वातावरण बनाइएको छ । युएईमा भने हालै मात्रै समूह पुनः व्यवस्थापन गरिएको छ । 

यसैक्रममा यो वर्षमा जिफन्टमा परेका उजुरीमध्ये मलेसियाबाट १३ उजुरी परेका छन् । जसमा पीडितको सख्या ६३ छ । युएईमा १३ जना पीडितले १२ वटा उजुरी दिएका छन् । साउदी अरेबियाबाट २१ जनाले दिएका १२ वटा उजुरी छन् । कुवेतबाट १८ जनाले १६ वटा उजुरी दिएका छन् । कतारमा भने १४ वटा उजुरी परेका छन् । पीडितको संख्या भने ५८ छ । त्यस्तै, पोर्चुलबाट एकजनाले एउटा उजुरी दिएका छन् । क्रोएसियाबाट तीनजनाले उजुरी दिएका छन् । तर, पीडित संख्या सात छन् । अमेरिकाबाट दुईजनाले एउटा उजुरी दिएका छन् । डेनमार्कबाट पाँचजनाले एउटै उजुरी दिएका छन् । नेपालबाट पाँचवटा उजुरी परेको छ । १५ जना पीडित छ । 

जिफन्टमा परेको उजुरीमध्ये रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बढी छन् ।  त्यस्तै, बिरामी भई काम गर्न नसक्दा कम्पनीले उपचार नगरेका कारण उपारकै लागि उद्धार गर्नुपरेको, सम्झौताअनुसार काम र तलब नपाएको, मृतकको शव नेपाल भिकाउन नसकेको, क्षतिपूर्ति नपाएको, जेलमा परेको श्रमिकाको उद्धार नभएको गुनासो आउने गरेको जिफन्टले जनाएको छ । साथै, परिवारसँग भेट्टाइदिन र अलपत्र परेको श्रमिकको उद्धार गरिदिन भन्दै जिफन्टमा उजुरी पर्ने गरेको छ ।

१४ वर्षमा १२ हजार ३८ ले गुमाए ज्यान
१४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये १२ हजार ३८ जनाले ज्यान गुमाएका छन् । महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन सय सातजना महिला र ११ हजार सात सय ३१ जना पुरुषले विदेशी भूमिमा ज्यान गुमाएका छन् । तथ्यांकअनुसार सन् २०२२/२३ मा मात्रै एक हजार दुई सय ७३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी २०२१/२३ मा एक हजार चार सय ७९ जनाले विदेशी भूमिमा ज्यान गुमाए । प्रतिवेदनअनुसार नेपाली कामदार अझै सुरक्षित नभएको महासंघका उपाध्यक्ष जनक चौधरीले बताए । तर, यसमा विषयमा सरकार मौन रहेको स्पष्ट हुने महासंघका उपाध्यक्ष चौधरीको भनाइ छ । 
 

ad
ad