+
+

आशावादी गोल्डमेडलिस्ट : सबै विदेशिए देश बस्नलायक कसले बनाउने ?

‘सबैथोक विदेशमा सम्भव छ भन्ने भ्रम त्यागौं, विद्यार्थीलाई रोजगारीमा भन्दा उद्यमशीलतामा प्रोत्साहन गर्न सके नेपालको भविष्य उज्ज्वल छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते २१:२२

२ पुस, काठमाडौं । व्यवस्थापन संकायबाट एमफिलमा सर्वोत्कृष्ट अंक सहित समग्र त्रिविकै सर्वोत्कृष्ट बन्न पुगे किशोर गौतम । हाल त्रिविमा पीएचडी गरिरहेका गौतम अध्यापनमा पनि सक्रिय छन् । उनको ध्याउन्न छ- पीएचडीपछि त्रिवि सेवा आयोग भिड्ने । प्राध्यापक बनेर नेपालको शिक्षा क्षेत्रमा योगदान दिने ।

किशोर भन्छन्, ‘प्रयास गरे अवसर प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्छु र अब चाँडै त्रिवि सेवा आयोगको विज्ञापन खुल्छ र प्रतिस्पर्धा गर्न पाउँछु भन्नेमा आशावादी छु ।’

नयाँ जनशक्तिलाई आशावादी बनाउन अथवा विदेश गए सबैथोक हुन्छ भन्ने भ्रम चिर्नको लागि राज्य लाग्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘विद्यार्थीलाई रोजगारीमा भन्दा उद्यमशीलतामा प्रोत्साहन गर्न सके नेपालको भविष्य उज्ज्वल देख्छु ।’

रसायनशास्त्र विषयमा गोल्डमेडलिस्ट बर्दियाका हिक्मत खनालले नेपालमा अवसर देखेका छन् । शिक्षण पेशामा आवद्ध रहेर आफ्नो योग्यता अनुसारको अवसर पाउनेमा ढुक्क सुनिए । उनी भन्छन्, ‘म मेरो योग्यता, क्षमता अनुसारको अवसर पाउँछु भन्नेमा ढुक्क छु । सरकारी नभए पनि निजी क्षेत्रमा अवसर पाइन्छ भन्ने छ ।’

विश्वविद्यालयबाट दक्ष भएर निस्किसकेपछि अवसर सिर्जना गर भनेर सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ छ । हिक्मत भन्छन्, ‘योग्यता अनुसारको अवसर छैन भने पनि हामीले राज्यलाई अवसर सिर्जना गर भन्ने पनि जिम्मेवारी हो । त्यतातर्फ पनि सोचौं र विदेशलाई अन्तिम विकल्पमा राखौं भन्छु ।’ दक्ष तथा सक्षम विद्यार्थीले अवसर सिर्जना गर्नतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका गोल्डमेडलिस्ट रिकेश महर्जन क्षेत्रगत अवसरहरु निश्चित भएकाले त्रिविबाट उत्पादित जनशक्ति बेरोजगार हुनुपर्ने स्थिति रहेको बताउँछन् । अवसरको खोजीमा धेरै युवाहरु विदेशिइरहेको उनको बुझाइ छ ।

रिकेश भन्छन्, ‘म आफैंले पढेको विषयमा अवसर पाउन निकै कठिन छ । देशमा उपलब्ध अवसरको तुलनामा धेरै जनशक्ति उत्पादन भइरहेको छ ।’ उनको बुझाइमा विभिन्न क्षेत्रमा अवसर सिर्जना गर्न सकिने भएकोले अब उनी भने नेपालमै बसेर अध्ययन अनुसन्धान गर्दै अवसर सिर्जना गर्न राज्यलाई दबाब दिने सोचमा छन् ।

रिकेश भन्छन्, ‘राज्यले दक्ष जनशक्ति उत्पादन गर्नेसँगै रोजगारी पनि सिर्जना गर्नुपर्छ । सरकारलाई हामी योग्य छौं, हाम्रो लागि अवसरको ढोका खोल भनेर झक्झकाउने जिम्मेवारी निभाउँछु ।’ विश्वविद्यालयले पनि उत्पादित जनशक्तिलाई सम्बन्धित निकायसँग जोड्ने काम गर्नुपर्ने उनको भनाइ छ ।

देशमा भइरहेको बेथितिको अन्त्य गर्न पनि युवापुस्ताको जिम्मेवारी भएकोले उनी युवाहरुलाई विदेश नजान आग्रह गर्छन् । उनी भन्छन्, ‘नेपालमा केही छैन भनेर सबै दक्ष जनशक्ति जति सबै विदेश जाने हो भने यहाँ भएको बेथिति हटाएर नेपालमा सबथोक छ भन्न लायक कसले बनाउने हो ?’

पुस्तकालय तथा सूचना विज्ञान विषयमा गोल्डमेडलिस्ट अन्जु श्रेष्ठ शैक्षिक विकाससँगै सीप विकासमा पनि ध्यान दिने हो भने अवसरको सम्भावना धेरै रहेको बताउँछिन् । संघीय संसद् सचिवालयमा कार्यरत श्रेष्ठ भन्छिन्, ‘मैले पढेको क्षेत्रमा अवसर धेरै छ ।’ सरकारले पनि सम्बन्धित क्षेत्रमा सम्बन्धित विषय पढेकालाई अवसर दिने हो भने पढेका विद्यार्थीले बेरोजगार हुनुपर्ने अवस्थामा परिवर्तन आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?