• ६ जेठ २०८१, आइतबार

बिदेसिने दक्ष जनशक्ति बढ्दै

blog

काठमाडौँ, पुस १८ गते  । वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ । गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् ।  

विभागको तथ्याङ्कले गत साउनमा उच्च दक्ष श्रमिक ११८ जना, अर्धदक्ष चार हजार ४६४ र अदक्ष १२ हजार २८४ जना बिदेसिएका छन् । यस्तै मङ्सिरमा उच्च दक्ष श्रमिकको सङ्ख्या २११ जना, अर्धदक्ष छ हजार १२० जना, अदक्ष १३ हजार ५९७ जना रहेका छन् । 

त्यसो त आर्थिक वर्ष २०७७/७८ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या २४ प्रतिशतले बढेको थियो । आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा यो सङ्ख्या १९ प्रतिशत बढेको देखिन्छ । पछिल्लो तथ्याङ्कबाट दक्ष भएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि हुुन्छ ।

यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् ।

विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । यस्तै सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ । 


सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ । सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारमा जाने र फर्केका श्रमिकका लागि सिपमूलक तालिमलाई अनिवार्य गर्न नसके पनि बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । 

त्यसो त सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि बनाएको थियो । कार्यविधि लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने उल्लेख छ ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । यसका लागि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको जनाएको छ । 

व्यवसायीले श्रमिक भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो ।