२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

रुसी सेनामा नेपालीको भर्ती हुनेक्रम नरोकिएपछि सरकारद्वारा कडाइ
होम कार्की

काठमाडौँ — सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बिहीबारदेखि रोक लगाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि अब रुस जान पाइने छैन । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको जनाएको छ । 

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

‘हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिक रुसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएका समाचार विभिन्न समाचारपत्रमा आइरहेको सन्दर्भमा,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्ययन तथा छानबिनसमेत भइरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिक रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’ यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासले पनि यूएईबाट रुसको यात्रा गर्न दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) चाहिने जनाएको छ ।

रुसी सेनामा भर्ना हुन गएका मध्ये ठूलो संख्या यूएईमा कार्यरत नेपाली रहेको पुष्टि भएको छ । अहिले मारिएका अधिकांश नेपाली यूएईको सुरक्षा गार्डदेखि बाइक राइडरसम्म छन् । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र पेसा व्यवसायमा संलग्न भएका बाहेक यूएईमा बसोबास गर्ने नेपालीले रुस भ्रमण गर्नुपरेमा यस दूतावासबाट एनओसी लिएर मात्रै यात्रा गर्नुहुन नेपाल सरकारको निर्णयअनुसार सबैमा अपिल गरिन्छ,’ बिहीबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्ने नेपालीको संख्या बढेपछि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको हो । युक्रेनी सेनामा समेत नेपालीको संलग्नता हुने सम्भावना बढेपछि युक्रेनसमेत जान रोक लगाइएको छ । विभागले रुस जानका लागि मंसिरमा ४० जनालाई श्रम स्वीकृति दिएको थियो । विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १७ महिनामा ६ सय ३६ नेपाली रुस गएका छन् । सबैभन्दा बढी पछिल्लो ५ महिनामा ३ सय ४४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ नेपाली रुस गएका छन् । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।

रुस र युक्रेनबीच २ वर्षदेखि करिब १७ सय किलोमिटर फ्रन्टलाइन (सीमाक्षेत्र) मा युद्ध चर्किरहेको छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । रुसले सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

रुसी सेनामा भर्ती हुनेमा अधिकांश पूर्वनेपाली सेना, पूर्वप्रहरी, पूर्वमाओवादी लडाकु छन् । रुसी सेनामा भर्ती भएका नेपालीले कम्तीमा ७ सय नेपाली भर्ना भइसकेको दाबी गरेका छन् । तर, सरकारले भने दुई सय नेपाली मात्र रुसी सेनामा भर्ना भएको दाबी गर्दै आएको छ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको जानकारीमा दुई सय नेपाली रहेको बताएका थिए । विभिन्न प्रलोभनमा परेर रुसी सेनामा भर्ना भएका नेपालीमध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । सय जना सम्पर्कविहीन छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन नेपालले रुसी सरकारलाई बारम्बार अनुरोध गर्दा पनि त्यसको सुनुवाइ भएको छैन । रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार भिजिट र विद्यार्थी भिसा लिई मस्को पुगेका नेपालीलाई समेत रुसी सेनामा भर्ती गराइएको छ । ‘रुसले गत साता मात्रै ४० जना नेपालीलाई सैन्य सेवामा भर्ना गर्‍यो,’ रोस्तोभ तालिम केन्द्रमा रहेका एक नेपालीले कान्तिपुरलाई भने, ‘भर्ना रोकिएको छैन, अहिले पनि दैनिकजसो यहाँ भर्ना भइरहेका छन् ।’

रुसी सेनामा नेपालीलाई भर्ती गर्नु पूर्ण रूपमा गैरकानुनी हो । विदेशी सेनामा नेपाली नागरिक भर्नासम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत दुई देशबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति छैन । नेपालले भारत र बेलायत सरकारको बीचमा सन् १९४७ नोभेम्बरमा भएको त्रिपक्षीय सन्धिबाहेक अन्य त्यस्तो सन्धि भएको छैन । त्यस्तै नेपाल १९४९ को जेनेभा अभिसन्धिको पक्ष राष्ट्र भएकाले कुनै पनि मुलुकले नेपालीलाई लगेर युद्धमा प्रयोग गर्न मिल्दैन । पूर्वपरराष्ट्र सचिव अर्जुनबहादुर थापा भन्छन्, ‘रुस मात्र नभई युक्रेनलगायत अन्य द्वन्द्वग्रस्त मुलुकमा पनि नेपालीलाई सैनिकका रूपमा लड्नका लागि प्रयोग गर्न मिल्दैन ।’

युक्रेनको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइको विषय पनि अन्योलमै छ । गत साता युक्रेन मामिला हेर्ने जर्मनीस्थित नेपाली राजदूत खड्काले रिहाइको विषय उठाउँदा युक्रेनी पक्षले समस्यालाई समाधान गर्न सबै खालको सम्झावना हेर्ने जानकारी दिएको छ । गत असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई युत्रेनी सेनाले नियन्त्रणमा लिएको खुलेको थियो । त्यसपछि काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन पनि युक्रेनी सेनाको नियन्त्रणको रहेको पुष्टि भएको थियो । ती सबै भिडियोको लिंकसहितको विवरण जर्मनीस्थित नेपाली दूतावासले युक्रेनी पक्षलाई बुझाएको छ ।

परराष्ट्र मन्त्रालयले ती नेपालीको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमबाट पनि कूटनीतिक पहल भइरहेको जनाएको छ । युक्रेनले पक्राउ परेका नेपालीलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको युद्धबन्दीसरह व्यवहार गर्ने जनाएको थियो । त्यसपछि युक्रेनले थप विवरण दूतावासलाई उपलब्ध गराएको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रुसी सेनामा नेपाली भर्ती नगर्न र भर्ना भएकाहरूलाई फिर्ता गर्ने विषयमा रुसी सरकारसँग कुरा गर्न परराष्ट्रमन्त्री एनपी साउद छिट्टै मस्को जाँदै छन् ।

प्रकाशित : पुस २०, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?