११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘वैदेशिक रोजगारको विकल्प खोज्नुपर्नेमा जोड’

वैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि अभिमुखीकरण गर्न आज आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले यस्तो जोड दिएका हुन्।

संस्थाले सदस्यहरूका लागि प्रदान गर्दै आएका विविध सेवा सुविधाहरू लगायत संस्थाबाट सदस्यहरूले लिन सक्ने लाभका विषयमा सदस्यहरूलाई सुसूचित गराउने उद्देश्यले गरेको कार्यक्रममा चेम्बरले यसका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्नेमा जोड दिएको छ।  

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कविदास श्रेष्ठले व्यावसायिकता सिर्जना हुने खालका युवा लक्षित कार्यक्रमहरु सञ्चालनमा ल्याई स्वरोजगारलाई प्रोत्साहन गर्ने लगायत कार्यक्रम ल्याउने योजना रहेको सुनाए।

उनले व्यावसायिक अवसर पहिचानका लागि तथ्याङ्क आवश्यक पर्ने भएको हुँदा चार वटै नगरपालिकाहरूमा व्यावसायिक तथ्याङ्क अद्यावधिक गराउन चेम्बरले विशेष पहल गर्दै आएको पनि जानकारी गराए।  

कार्यक्रममा सहभागीहरूबाट कर प्रशासनमा सुधारका लागि व्यापक पहल गरिनुपर्ने, वस्तुगत सङ्घहरूको नेतृत्व क्षमता विकासका लागि तालिमहरूको आयोजना गरिनुपर्ने, नेतृत्व लगायत व्यावसायिकता विकासजस्ता तालिम गोष्ठीहरूको आयोजना गरिनुपर्ने,आयात निर्यातमा लाग्दै आएको करका विषयमा पुनर्विचारका लागि पहल गरिनुपर्ने, निकासी करमा ब्यापक छलफल हुनुपर्ने र तथ्याङ्कहरू अद्यावधिक हुनुपर्ने जस्ता विषयहरूमा चेम्बरबाट पहल गर्न सुझाव दिए।

संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले सहभागीहरूबाट आएको सल्लाह सुझावहरूलाई समेट्दै संस्थाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए।कार्यक्रममा चेम्बरका गतिविधिहरू लगायत चेम्बरले उपलब्ध गराउँदै आएका सेवा सुविधाहरुका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: २२ पुस २०८० १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App