५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मंसिरमा मात्रै श्रम स्वीकृति लिने ७१ हजार

फाइल तस्वीर

देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेश जान चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ। गत कात्तिकको तुलनामा मंसिरमा श्रम स्वीकृति लिनेको संख्या झन्डै दोब्बर भएको छ।

वैदेशिक रोजगार विभागबाट कात्तिकमा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृति लिएकामा मंसिरमा यो संख्या बढेर ७१ हजार २ सय ७६ पुगेको छ। विभागको तथ्यांकअनुसार कात्तिक र मंसिरमा मात्रै १ लाख २ हजार ६ सय २४ जना पुरुष र १२ हजार २ सय ३४ जना महिलाले श्रम स्वीकृति लिएका हुन्।

विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ। एक पटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोजेका छन्।

‘नयाँ श्रम स्वीकृतिसँगै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको छ,’ विभागका सूचना अधिकारी कविराज उप्रेतीले भने, ‘दसैं, तिहार र छठपछि पुनः श्रम स्वीकृति लिने बढी हुन्छन्।’

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जाने युवाको पहिलो गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्येमा पर्छ। त्यहाँ तीव्र रूपमा बढेको आर्थिक गतिविधिका कारण रोजगारीका अवसर सिर्जना भएका छन्।

नेपाली युवाले वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकका रूपमा युएईलाई लिएका छन्।

अघिल्लो आर्थिक वर्षको मंसिरमा तेस्रो श्रम गन्तव्य मुलुकका रूपमा रहेको युएई चालु आवको सुरुदेखि नै पहिलो श्रम गन्तव्य बनेको छ। विभागको तथ्यांकअनुसार गत मंसिरमा मात्रै युएईका लागि १८ हजार ४ सय ९३ जनाले श्रम स्वीकृति लिएका छन्।

अघिल्लो आवको मंसिरमा नेपालीको श्रम गन्तव्य मुलुकका रूपमा कतार चौथो स्थानमा थियो। चालु आवको मंसिरमा कतारका लागि १४ हजार १ सय ५२ जनाले श्रम स्वीकृत लिएका छन्।

श्रम स्वीकृति लिनेको तथ्यांकअनुसार यो मंसिरमा कतार दोस्रो श्रम गन्तव्य मुलुक बनेको छ। त्यसैगरी नेपालीको श्रम गन्तव्य मुलुकमा तेस्रो स्थानमा रहेको साउदी अरेबियामा १३ हजार ९ सय ८३ जना, चौथो स्थानमा रहेको मलेसियामा ९ हजार ७ सय ७५ जना र पाँचौं स्थानमा कुवेत जान ३ हजार ४ सय ८५ जनाले श्रम स्वीकृति लिएका छन्।

चालु आवको साउनदेखि मंसिरसम्म ६८ हजार ४ सय ७० जना श्रमका लागि युएई पुगेका छन्।

समग्रमा श्रमका लागि युएई जाने महिलाको संख्या पनि बढेको छ। नेपालबाट महिलालाई रोजगारीका लागि विदेश जान सबै मुलुक खुला छैनन्। वैदेशिक रोजगारीका लागि बन्देज लगाइएका देशमा पनि महिला अवैध रूपमा जाने गरेको सरकारी अधिकारी बताउँछन्।

वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवा सन्तुष्ट रहेको पाइन्छ।

नेपालीले चाहेअनुसारको काम युएईमा पाइन्छ। त्यहाँका कम्पनीहरू पनि श्रमिकले चाहेअनुसारका छन्। नेपाली युवाको युएई गएर त्यहाँबाट युरोप छिर्ने उद्देश्यसमेत हुन्छ। यस कारण पनि युएई जाने युवाको संख्या बढ्दो क्रममा छ।

वैदेशिक रोजगारीमा जाने महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागले जनाएको छ। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु काम पनि पाउने भएपछि उनीहरू त्यहाँ जाने गरेका हुन्।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिने युवाको तथ्यांकमा धनुषा जिल्ला पहिलो स्थानमा छ। मंसिरमा धनुषाबाट ३ हजार ६ सय २१ जनाले श्रम स्वीकृति लिएकोमा ६ सय २४ जना महिला छन्।

त्यस्तै मंसिरमा झापाबाट ३ हजार ३ सय ९७ जना, मोरङबाट ३ हजार १ सय २ जना र सिराहाबाट २ हजार ७ सय १६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ।

विभागका सूचना अधिकारी उप्रेतीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। महिला कारखाना, सरसफाइ र घरेलु कामदारका रूपमा युएई जाने गरेका छन्। महिलाहरू म्यानपावर कम्पनीमार्फत र व्यक्तिगत प्रयासमा पनि विदेश जाने गरेको उनले बताए।

‘युएईमा विदेशी कामदारमध्ये सबैभन्दा धेरै भारतीय छन्,’ उप्रेतीले भने, ‘त्यसपछि पाकिस्तानी, बंगलादेशी, फिलिपिनी, इरानी, इजिप्टेली, नेपाली, श्रीलंकाली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकका लागि युएई पहिलो रोजाइ बनेको छ।’

आव २०७९/८० मा श्रम स्वीकृति लिएर १ लाख १६ हजार १५९ जना युएई पुगेका थिए। जसमा २४ हजार महिला थिए।

उप्रेतीले भने, ‘सबैभन्दा बढी मधेसका युवा बिदेसिएका छन्। अहिले नेपाली युवाको श्रम गन्तव्य मुलुक युएई, साउदी अरेबिया, कतार, मलेसियाजस्ता देश छन्।’

सरकारले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा जान भने पनि अधिकांश महिला सीपविहीन अवस्थामा विदेश पुग्ने गरेको बुझाइ सरकारी अधिकारीको छ।

 विभागका अनुसार गत मंसिरमा वैदेशिक रोजगारीका लागि बिदेसिएका करिब ७१ हजार जनामा अदक्ष पुरुष १४ हजार र महिला २ हजार छन्।

त्यस्तै ६ हजार १२८ पुरुष र ६ सयजति महिला अर्धदक्ष छन्। विदेशमा पुगेपछि अदक्ष कामदार बढी समस्यामा पर्ने गरेको विभागले जनाएको छ। 

प्रकाशित: १५ पुस २०८० ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App