• १२ जेठ २०८१, शनिबार

रोजगारीमा कोरिया जान मरिहत्ते गर्नुका कारण...

blog

काठमाडौँ, पुस १७ गते । गत शुक्रवार बालकुमारीमा सिप बिल्डिङमा अनुत्तीर्णलाई पनि नयाँ इपिएस कोरिया भाषा  परीक्षामा सहभागी गराउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिँदा दुई युवाको ज्यान गयो । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त घटनाका दोषीलाई कारबाही गर्ने सरकारले जनाएको छ । पछि उक्त समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।

अहिले इपिएस भाषा परीक्षा पास गरी कोरिया जान चाहनेको लर्को देखिन्छ । इपिएसमार्फत कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ कामदार माग गरेकोमध्ये एक लाख ४३ हजारले आवेदन भरिसकेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । 

गत पुस १ गतेदेखि ६ गतेसम्म खुलाएको आवेदनमा परेको इपिएस काेरिया शाखाले जनाएको छ  । अब सिप विल्डिङमा उनुत्तीर्णले फारम भर्न पाउँदा आवेदन दिनेको सङ्ख्या एक लाख ७० हजारको हाराहारीको सङ्ख्यामा पुग्ने देखिन्छ । 

कोरिया सरकारले सन् २००८ सालदेखि रोजगारीका लागि नेपाली कामदार लान लागेको हो । अहिलेसम्म ४५ हजारको हाराहारीमा नेपाली कामदार  रोजगारीका लागि कोरिया छन् ।

किन बढे आवेदनकर्ता ?

पछिल्ला वर्षमा नेपालबाट रोजगारीका लागि दक्षिण कोरिया जानका लागि आवेदन भर्नेको संङ्ख्या बढेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल बताउनुहुन्छ । 

उहाँका अनुसार कोरियामा राम्रो कमाई हुने र फर्कँदा केही सीप पनि सिकेर आउने हुँदा कोरिया जान चाहनेको सङ्ख्या बढ्दै छ । 

उहाँले भन्नुभयो, “कोरियामा रोजगारीबापतको कमाइ पनि आकर्षक छ । व्यक्ति फर्केर आउँदा उसले राम्रो आम्दानीसँगै केही सीप पनि सिकेर फर्किन्छ । त्यसैले कोरियाप्रति आकर्षण बढ्दो छ ।” 

इपियस कार्यक्रम जीटुजी अर्थात् सरकार र सरकारबिच सम्झौता भएको हुँदा यसमा ठगिने वा रोजगारीको ग्यारेन्टी नहुने भन्ने हुँदैन र यसका जे काममा लागि भनेर जाने हो त्यही काम नै गर्न पाइने भएकाले पनि आकर्षण बढेको उहाँको भनाइ छ ।

सहसचिव पोखरेलले भन्नुभयो, “अन्य देशहरूमा एउटा काम भनेर लगेर अर्को काम पर्‍यो भन्ने गुनासाहरू सुनिन्छन्, कोरियामा जे काममा लागि भनेर गयो उहीँ काम गर्न पाइन्छ । सरकार–सरकार बिच सम्झौता भएको  हुँदा ठगिने जोखिम पनि हुँदैन ।” 

उहाँका अनुसार रोजगारीका लागि दक्षिण काेरिया जाने श्रमिकहरूलाई सामाजिक सुरक्षा व्यवस्था समेत भएकाले आकर्षण बढेको हो ।

कोरियाले कसरी हेरेको छ यो घटनालाई ?

बालकुमारीमा भएको घटनालाई कोरियाले राम्रोसँग नियालेको पोखरेलको भनाइ छ । यो मात्र होइन अघि पनि कोरिया जाने विषयमा योभन्दा अघि पनि आन्दोलन भएको थियो ।

उहाँले भन्नुभयो, “शुक्रवार बालकुमारीमा भएको घटनाको बारेमा दक्षिण कोरिया सरकारले राम्रोसँग नियालेको छ । नकारात्मक सन्देश नजाओस् भनेर नेपालका लागि कोरियाका राजदूतसँग छलफल पनि गर्दै छौँ ।”

नेपाली इमानदार हुन्छन् भन्ने कोरियालीलाई लागेका कारण पनि कोरिया सरकारले नेपालबाट कामदार लगिरहेको छ । पछिल्लो समय भएका आन्दोलन तथा झडपहरूले यो विश्वास गुम्ने खतरा रहेको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो,“नेपालीहरू इमान्दार हुन्छन्, राम्रोसँग काम गर्छन् भन्ने कोरियालीहरूमा सोचाइ छ । त्यसैले नेपाली कामदारलाई उनीहरूले बढी प्राथमिकता दिन्छन् । पछिल्लो समय भएका आन्दोलन र झडपले यो विश्वास गुम्ने खतरा छ ।”

सन् २००८ बाट अहिलेसम्म एक लाख एक लाख पाँच हजार बढी कामदार रोजगारीका लागि  कोरिया पुगिसकेका छन् ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।