+
+

मलेसियाबाट फर्काएको छोरो रुसमा बिलायो

अवस्था यकिन गरिदिन सरकारलाई बाबुको अपिल

‘एकपटक भागेर आउन त बाबु भनेको थिएँ । ऊ पनि भागेकै हो, तर उतिबेलै समातेर लगिहाल्यो । त्यसपछि आउनै दिएन, यहाँ पसेपछि निस्किन सम्भवै रहेनछ बा ! भन्थ्यो ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८० माघ २ गते १९:३०

२ माघ, पोखरा । अघिल्लो रात काठमाडौंमा सँगै बसेर २ असोजमा छोरा साजनलाई मकाउका लागि बिदाइ गरेका श्रीमान गुरुङ त्यतिबेला पो छाँगाबाट खसेजस्तो भए, जब फेसबुकमा छोराको फोटो देखे ।

मकाउ जान्छु भनेपछि हार्न नसकेका उनले कात्तिकमा छोरालाई रुसी सैन्य पोशाकमा देखेका थिए ।

गुरुङ लमजुङको दूधपोखरी गाउँपालिका–१ मा निर्वाचित वडा सदस्य हुन् । उनले पछिल्लो समय नेपाली युवाहरु रुस पुगेर त्यहाँको भर्ती भइरहेको र उनीहरु फर्किन नसकेको खबर सुनिरहेका थिए । तर कृषि क्षेत्रमा राम्रो अवसर आएको छ भनेर मकाउ उडेका छोरा रुस पुग्ला भनेर कल्पना गरेका थिएनन् ।

उनी त मकाउ पठाउन पनि तयार थिएनन् । ‘मैले त बाउआमा र परिवारको साथमा गाउँमै बसेर केही गर भनेको थिएँ’, उनले अनलाइनखबरसँग भने, ‘कसैगरी नमानेपछि म आफैं काठमाडौं पुगें । बाउछोरा बस्यौं, भविष्यबारे धेरै कुरा गर्‍यौं ।’

१२ कक्षा पास गरेको, राजनीतिमा समेत चासो राख्ने छोराले बुझेरै गयो होला भन्ने लागेको थियो । तर एक महिनापछि सामाजिक सञ्जाल फेसबुकमा छोरालाई फौजी ड्रेसमा देखे । गुरुङ भन्छन्, ‘उसले मकाउ भनेर ढाँटेर पो गएछ !’

फौजी पोशाकमा छोरोको फोटो फेसबुकमा देखेपछि उनले म्यासेन्जरमा कल गरे । मकाउ जान्छु भनेर किन उता गएको भनेर प्रश्न गर्नुभन्दा जसरी हुन्छ त्यहाँबाट फर्केर आइज, जे गरे पनि यही गरौंला, खाउँला भनेर सम्झाए ।

उनले पहिले पनि छोरा साजनलाई मलेसियाबाट फर्काएका थिए । मलेसियामा काम दुःख छ भनेपछि जे पर्छ आइज भनेर फर्काएका बाबुले आग्रह गरेपछि साजन रुसबाट  भागेर आउन पनि खोजेका थिए । ‘एकपटक भागेर आउन त बाबु भनेको थिएँ । ऊ पनि भागेकै हो, तर उतिबेलै समातेर लगिहाल्यो । त्यहीँबाट आउनै दिएन’, श्रीमानले छोरालाई फर्काउन खोजेको घटनाबारे सुनाए, ‘यहाँ पसेपछि निस्किन सम्भवै रहेनछ बा ! भन्थ्यो । निस्किने चान्सै रहेनछ ।’

छोरा साजनको मृत्यु भएको खबर सुनेपछि श्रीमान गुरुङलाई ठूलो चोट परेको छ ।

रुसी फौजमा रहेका लमजुङ भोटेओडारका एक जनाले साजनको मृत्यु भएको खबर ३ दिन अगाडि दिएका थिए । जर्मनीमा रहेका कान्छो छोराले पनि पक्का गरेपछि श्रीमानको परिवारले किरिया कर्म गरेको छ । गुरुङ संस्कारअनुसार ३ दिन किरिया कर्म गर्ने भएपनि उनको परिवारले एक दिनमै टुंग्याएको छ ।

साजनको मृत्यु भएको विश्वास नै नलागेको श्रीमान बताउँछन् । सरकारी निकायले पनि खबर गरेको छैन । ‘छोरो मरेको खबर आएपनि यकिन भएकै छैन । न दूतावासले भनेको छ, न विभागले’, उनले भने, ‘अझै पनि जिउँदै छ भन्ने लागिरहेको छ । अब वैदेशिक रोजगार विभाग जान्छु, प¥यो भने एम्बेसीमा पनि जानैपर्ला ।’

साजन कुन दलालमार्फत कसरी रुस गरे भन्ने सोधिखोजी गरेपनि पत्ता लगाउन नसकेको उनले बताए । उनले सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी आओस् भन्ने चाहेका छन् ।

‘पहिल्यै रुसी फौजमा जाने थाहा पाएको भए मैले कहाँ जान दिन्थेँ र ! मकाउ भनेर उता गइहाल्यो, जे नहुनु भयो’, उनको अनुनय छ, ‘राज्यका निकायले छोराको स्थिति पत्ता लगाइदिए हुन्थ्यो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?