कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रुस–युक्रेन युद्ध : दुई सेकेण्डमै टुंगिएको साजनसितको अन्तिम वार्ता

साजनका बुबा भन्छन् : छोरा मरेको पुष्टि गरिदिनू, शव ल्याइदिनू
आश गुरुङ

लमजुङ — युक्रेनसँगको युद्धमा परी रुसी सेनामा भर्ती भएका लमजुङ, दूधपोखरी गाउँपोखरी गाउँपालिका–१ स्थित घमारचोकका ३२ वर्षिय साजन गुरुङको निधन भएको छ । निधनको खबरबारे नेपाल सरकारले भने पुष्टि गरिसकेको छैन । तर परिवारजनले भने साजनसँगै रुसी सेनामा भर्ति भएका साथीहरुले निधनबारे सामाजिक सञ्जालमार्फत् ‘पुष्टि’ गरेपछि पुस २९ मा नै काजकिरिया गरिसकेको छ । साजनको मृत्यू खबरले श्रीमती र आमा मुर्च्छित अवस्थामा छन् भने बुबा छोराको अवस्था एकिन गर्न लागिपरिरहेका छन् ।

रुस–युक्रेन युद्ध : दुई सेकेण्डमै टुंगिएको साजनसितको अन्तिम वार्ता

‘जमर्नमा भएको कान्छो छोरा कुमारले दाई नरहेको अपुष्ट खबर आएको भन्ने सुनायो’ वडा सदस्य समेत रहेका साजनका बुबा श्रीमान गुरुङले थपे, ‘कान्छोले भन्दा समेत मैले पत्याईन तर फेसबुकमा उसका साथीभाईले पनि फोटो हालेका रहेछन्, हामीलाई त थाहै भएन ।’ उनले छोराको निधनबारेमा आधिकारीक खबर नपाएको बताउँदै यसबारेमा पुष्टि गरिदिन आग्रहसमेत गरे ।

गत असोज २ मा मकाउ जाने भन्दै घरबाट हिँडेका साजनले अन्तिमपटक पुस १६ मा परिवारसँग कुराकानी गरेका थिए । श्रीमती सीतासँग भिडियो कल गर्ने क्रममा उनले बुवासँग पनि बोल्न खोजेका रहेछन् तर २ सेकेण्ड नबित्दै सम्पर्क टुट्यो । ‘बाबु भन्दा भन्दै झ्याप्पै फोन काटियो । त्यसपछि सम्पर्क नै भएन । आखिर त्यही बोली नै अन्तिम भयो,’ श्रीमानले दुःख पोखे, ‘अझै पनि पत्यार लाग्दैन । मरेकै हो भने पुष्टि गरिदिनु । शव ल्याइदिनु ।’ भिडियो कल भएको भोलीपल्टै साजनको निधनको अपुष्ट खबर फैलिएको थियो ।

आठ वर्ष अघि रोजगारीका लागि मलेसिया गएका साजन ९ महिनामै फर्किएपछि पुनः मकाउको भिसा लागेको भन्दै घर छोडेका थिए । त्यसको एक महिनापछि उनका साथीहरुले फेसबुकमा रुसी सैनिक पोसाकमा साजनको फोटो हालेको देखेपछि परिवारले रुस गएको पत्तो पाएको थियो । छोरो युद्धमा भएको थाहा पाएपछि श्रीमानले साजनलाई घर फर्कन आग्रह गरेको बताए ।

‘मकाउको भिसा लाग्यो भनेर एकैचोटी रसिया गएको थाहा पाएँ,’ श्रीमानले भने, ‘सेनामा जोडिएको थाहा पाएपछि घर फर्कन भनेपनि मानेन, बरु अरु कुरा गर्न पनि चाहेन ।’ छोराले विदेश जान्छु भनेपछि १०–१२ लाख खर्च गरेको उनले बताए । ‘नाति ५ वर्षको छ । बुहारीलाई पनि अरु कुरा केही थाहा थिएन,’ उनले भने ।

वडाअध्यक्ष दुर्गामान गुरुङले साजनको मृत्यूको खबरले गाउँ नै शोकाकुल बनेको बताए । माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष सुनिल सुनारका अनुसार साजन दूधपोखरी गाउँपालिका कमिटीका वाइसीएल अध्यक्ष पनि थिए ।

‘साजनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ । युद्धभूमिबाट फर्किएर राजनीतिमार्फत गाउँको सेवा गर्न चाहन्थ्यो । त्यो चाहना अब कहिल्यै पूरा नहुने भयो,’ मंगलबार साजनको परिवार भेट्न आईपुगेका उनले भने, ‘परिवारका लागि युद्धको भूमरीमा कोही पनि होमिन नपरोस् भन्ने हामी चाहन्छौं ।’

साजनको निधनको पछिल्लो खबरसँगै युक्रेनसँगको भिडन्तमा परी रुसी सेनामा भर्ती भएका मृतक नेपालीको संख्या १३ पुगेको छ । यसअघि स्याङजाका हरिप्रसाद अर्याल र प्रितम कार्की, गोरखाका सन्दीप थपलिया र कुन्नसिंह नागल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, कैलालीका भरतबहादुर शाह, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र प्यूठानका सोनु सुनारको निधन भईसकेको छ ।

धादिङका पूर्णबहादुर र प्युठानका सोनुको निधनबारे भने सरकारले आधिकारीक पुष्टि गरिसकेको छैन । तर उनिहरुका परिवारले भने उनिहरुको अन्त्येष्टी गरिसकेका छन् । त्यसैगरी, उक्त युद्धमा चार जना नेपालीलाई अझै पनि युक्रेनी सेनाले बन्धक बनाएर राखेको छ ।

प्रकाशित : माघ ३, २०८० ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?