कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

रुसी सेनामा भर्ती हुन पाइन्छ, छाड्न पाइँदैन

रेडजोनमा युद्ध लडेर फर्केका अधिकांश नेपालीद्वारा उद्धारका लागि दूतावासलाई अनुरोध

काठमाडौँ — रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको  ४७ दिन बितिसक्यो । फलेवास–२ पर्वतकी उनले गत मंसिर २० मा विभागमा निवेदन दिएकी थिइन् । तर, श्रीमान् कृष्णबहादुर कहिले नेपाल फर्किन्छन्,  टुंगो छैन । रुसी सेनामा भर्ती हुन कृष्ण गत कात्तिक २ मा रुस पुगेका थिए । अहिले उनी रुसी सेनाले कब्जा गरेको युक्रेनको वद्रियासको सैन्य शिविरमा खटिएका छन् । 

रुसी सेनामा भर्ती हुन पाइन्छ, छाड्न पाइँदैन

‘श्रीमान्सँगै भर्ना भएका धेरै साथी बेपत्ता भइसकेका छन् । उहाँको पनि हातमा चोट लागेको छ । स्थिति निकै कठिन छ,’ आरतीले भनिन्, ‘उहाँ आउन खोज्नुभएको छ । सकिराख्नुभएको छैन ।’

अछामका चक्रबहादुर कुँवरले आफूहरूलाई उद्धार गरिदिन भन्दै मंसिर २३ मा मस्कोस्थित नेपाली दूतावासमा निवेदन पठाएका थिए । उनले दूतावासलाई नगुहारेको दिन छैन । यता नेपालमा पत्नी पवन कुँवरको दिनरात चक्रबहादुरको चिन्तामै बितिरहेको छ । ‘श्रीमान् घाइते भएकाले रेडजोनमा लड्न जाने अवस्था छैन,’ कुँवरले भनिन्, ‘युक्रेन र रसियाबीच भइरहेको युद्धको वास्तविक अवस्था कसैलाई थाहा थिएन । अहिले थाहा पाउन ज्यानको बाजी नै लगाउनुपर्ने रहेछ ।’

कृष्ण र चक्रबहादुर मात्र नभएर रेडजोनमा युद्ध लडेका अधिकांश नेपाली आफैं पनि रुसी सेनासँगको सम्बन्ध तोडेर नेपाल फर्कन चाहन्छन् । उद्धारका लागि दूतावासहरूलाई अनुरोध गरेका छन् । उनीहरूका परिवारले पनि नेपाल फर्काइदिन सरकारलाई गुहारेका गुहारेकै छन् । तर, रुसी सेनामा भर्ना हुँदा गरेको सम्झौताका कारण उनीहरू आफूले चाहेको समयमा फर्कन पाएका छैनन् ।

गत कात्तिक ४ मा रुस पुगेका पोखराका ईश्वर खड्का एक महिनादेखि युक्रेनी भूभागमा बंकरमा बसिरहेका छन् । ‘मेरो अचानक कोखा दुख्यो, छाती दुख्यो । दुखेर कक्रकै थला परें । युद्ध लड्न नसकेपछि बंकर रुग्न लगाएको छ,’ खड्काले पठाएको भ्वाइस सन्देश छ, ‘मसँग एक जना लोकल मान्छे छन् । हामीबीच सञ्चार हुँदैन । उसको भाषा मैले बुझ्दिनँ, मेरो उसले बुझ्दैन । यस्तो ठाउँमा गुजारा गरेको एक महिना भइसक्यो । ढोका बन्द गर्दा एकदमै निसासिन्छ । राति ढोका खोलौं भन्दा दुश्मन आउला भन्ने डर छ । बाहिर एकदमै चिसो छ ।’

उनले मोबाइल पाउनेबित्तिकै उद्धारका लागि दूतावासमा अनुरोध गर्ने गरेको बताए । ‘यो इन्टरनेट पनि लोकलसँग अनुरोध गरेर एकैछिन चलाएको हो । हिजो मैले दूतावाससँग कुरा गरे । परिवारसँग पनि सम्पर्क गर्न पाएँ । हाम्रो २८ जनामा तीन जनाले ज्यान गुमाइसकेका छन् । बाँचेका २५ जनामा पनि केही साथीहरू घाइते छन्,’ उनले भने, ‘यहाँ परराष्ट्रमन्त्री आउने खबरले उत्साहित छौं । रुसमा रहेका सबै नेपालीको उद्धार हुनेमा आशावादी छौं । हामी २५ जनालाई एकै पटक फर्काउन सम्भव नभए पनि कमजोर मनस्थिति र नेपालमा हातहतियार नचलाएकाहरूलाई पहिला प्राथमिकता राखिदिन्छन् भन्ने आशा छ ।’

आँखै अगाडि धेरै साथी गुमाइसकेको भन्दै आफूहरू निकै कमजोर मनस्थितिबाट गुज्रिनुपरेको उनीहरूको भनाइ छ । ‘हामी टिकटकको भरमा लहैलहमा लागेर आइहालियो । एकदमै दुःख पाइयो । हिउँमा ड्युटी गरिराखेका छौं । फर्कन चाहन्छौं । यहाँबाट मान्छेलाई लड्न लगेको लग्यै छ । हामीलाई कहिले लैजान्छ थाहा छैन,’ कुँवरले भने, ‘हामी त चक्रव्यूहमा फसेको जस्तो लागिरहेको छ ।’

रुसले आफ्नो सेनामा अवैध रूपमा नेपालीलाई भर्ती गरेर युद्धमा पठाउँदै आएको छ, जसका कारण रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या बढिरहेको छ । तर, उनीहरूलाई फिर्ता गर्न नेपाल सरकारले गरेको अनुरोधलाई रुसले बेवास्ता गर्दै आएको छ । रुसी सेनामा भर्ती हुन पाइने तर सजिलै फर्किन नपाउने हुँदा एक प्रकारले नेपाली कैदीजस्तै भएका छन् । हालसम्म रुसी सेनामा भर्ती भएका कम्तिमा ११ नेपालीको ज्यान गइसकेको सरकारले औपचारिक पुष्टि गरिसकेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार रुसी सेनामा भर्ना भई सम्पर्कविहीन भएका एक सय १५ जनाको परिवारका तर्फबाट निवेदन परेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउन सरकारले रुस सरकारलाई आग्रह गरिसकेको छ । नेपालले भारत र बेलायतबाहेक अन्य मुलुकसँग नेपालीलाई सैन्य भर्ना गर्ने सम्झौता नभएको उल्लेख गर्दै रुसलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । परराष्ट्रले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूतलाई समेत बोलाएर त्यसबारेमा पटक–पटक कुराकानी गरिसकेको छ ।

मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि मस्कोमा रुसको विदेश मन्त्रालय पुगेर नेपाल सरकारको सन्देश सुनाएका थिए । तुलाधरले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । साथै, नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । तर रुसले नेपाललाई प्रस्ट रूपमा जवाफ दिएको छैन ।

युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए । ‘भेटमा रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गर्‍यौं । नेपालले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्था भएको बाहेक अरू विदेशी सेनामा आफ्ना नागरिक पठाउने नेपालको नीति नरहेको जानकारीसमेत गराएँ,’ परराष्ट्रमन्त्री साउदले कान्तिपुरसँग भने, ‘साथै, भर्ना भएका नेपालीहरूलाई फिर्ता पठाइदिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरेका छौं ।’

यसबारे रुसले प्रस्ट जवाफ नदिए पनि दुई मुलुकबीच सैन्य भर्ना सम्बन्धलाई लिएर कूटनीतिक कुराकानी थालनी भएको परराष्ट्रमन्त्री साउद मान्छन् । ‘मन्त्री तहमै पहिलो पटक यो समस्याबारे कुराकानी भयो । हामीले आफ्नो धारणा प्रस्टसँग राख्यौं । उहाँले पनि आफू मस्को पुगेर यसबारे छलफल गरेर नेपालस्थित राजदूतमार्फत जानकारी दिने पनि बताउनुभयो,’ उनले भने । साउदले रुसका तर्फबाट मृतकको परिवारलाई क्षतिपूर्ति दिने र शवलाई नेपाल पठाउन सहजीकरण गरिदिन भनिए पनि अहिले भर्ना गरिएका नेपालीलाई फिर्ता पठाउने विषयमा कुनै पनि जवाफ नआएको बताए । परराष्ट्रमन्त्री साउद आफैं रुस गएर त्यहाँको अवस्था बुझ्नका लागि गृहकार्य गरिरहेका छन् । उनले नेपालको कूटनीतिक माध्यममार्फत रुसलाई भ्रमण गर्नेबारेमा पनि जानकारी गराएका छन् ।

सरकारले नेपालीलाई फिर्ता ल्याउन गम्भीर पहल नगरेको भन्दै सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भने सरकार गम्भीर रूपमा लागेको बताउँछन् । ‘नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारे सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका, विगतका भारत र इंग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ आइतबार युगान्डाबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीसँग दाहालले भने ।

उनले रुसलाई कूटनीतिक नोट पठाइएको जानकारी दिए । ‘राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन,’ उनले भने ।

प्रकाशित : माघ ८, २०८० ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?