३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

रुस–युक्रेन युद्धः मारिँदैछन् नेपाली, परराष्ट्रमन्त्री रुस जाने तयारीमा

रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिने क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्।

हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना नेपालीको मृत्यु भएको रुस सरकारले नेपाल सरकारलाई आधिकारिक जानकारी दिएको छ। तर, मृत्यु हुनेको संख्या कम्तिमा १२ पुगिसकेको छ। मृतकका परिवारले पाएको सूचना अनुसार थप दुईजनाको मृत्यु भएको खबर छ। त्यसबाहेक पनि आइतबार थप एकजनाको बारेमा शंकास्पद खबर आइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसरी खबर आउन थालेसँगै नेपाल सरकारले रुसी सेनामा नेपाली पठाउने नीति नरहेको भन्दै पटक पटक त्यहाँ नजान सार्वजनिक आह्वान गर्दैआएको छ। तर, युवाहरु त्यहाँ जाने क्रम भने रोकिएको छैन। हालसम्म ८ सय देखि एकहजार जनासम्म नेपाली युवा रुसी सेनामा भर्ती भइसकेको नेपाल सरकारका निकायको जानकारीमा छ। त्यसभन्दा अधिक संख्या पनि हुनसक्ने जानकारहरुले बताएका छन्।

यसैबीचमा मस्कोस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले आफ्ना नागरिकलाई सेनामा भर्ती नदिइदिन रुस सरकारलाई आग्रह गर्दैआएको छ। तर रुसले भर्ना लिन बन्द गरेको छैन।

उता नेपाली नागरिकहरु मृत्यु हुँदै जादा मृतकको शव र क्षतिपूर्ति हालसम्म परिवारले पाएका छैनन्। यसविषयमा पनि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग र मस्कोस्थित राजदूतावासले पहल गरिरहेको छ। पछिल्लो समय रुस सरकारले मृतक परिवारलाई आफ्नो कानुनअनुसारको क्षतिपूर्ति दिन रुस सरकार सकारात्मक देखिएको छ। यद्यपी शव दिन भने तयार हुनसकेको छैन। क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सन्दर्भमा भने अझै अन्योल छ।

यसैक्रममा गत शुक्रबार युगान्डामा सम्पन्न असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनको मौकामा जुरेको भेटमा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वार्सिनिनसँग भेटवार्ता गरेर पनि यसविषयमा कुराकानी गरेका थिए। जसमा उनले बेलायती र भारतीय सेनामा बाहेक अन्यत्र नेपाली नागरिक नपठाउने नीति रहेको प्रस्ट्याउँदै आफ्नो सेनामा नेपाली नागरिक भर्ती नलिन र भएकालाई फिर्ता गरिदिन आग्रह गरेका थिए। यस्तै मृतकका परिवारलाई क्षतिपूर्ति दिई आफ्नो संस्कृतिअनुसार अन्त्येष्टिको हक प्रत्याभूत गर्न शव पनि उपलब्ध गराउन वार्सिनिनसँग साउदले आग्रह गरेका थिए। त्यो भेटमा क्षतिपूर्ति दिनेबाहेकका कुराका रुसी उपविदेशमन्त्रीले प्रस्ट जवाफ नदिएको स्रोत बताउँछ।

यसैक्रममा रुसी सेनामा नेपाली नागरिक गएर समस्या दिनप्रतिदिन बढ्दै जान थालेपछि समाधानको पहल गर्न परराष्ट्रमन्त्री साउद आफै रुस जाने तयारी थालेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री साउद १५ दिनदेखि महिना दिनभित्र रुस जाने तयारीमा छन्।

'अहिले उहाँले समस्याको सांगोपांगो अध्ययन गरेर आफूलाई जानकारी दिन मन्त्रालयका जिम्मेवार कर्मचारीलाई निर्देशन दिनुभएको छ,' मन्त्रालय स्रोतले भन्यो, 'त्यसमा रुसी सेनामा कति नेपाली छन् ? कहाँकहाँबाट गए? कसरी गए? सबै विस्तृतमा दिन भन्नुभएको छ। सबै यथेष्ट जानकारी आएपछि आफैं जाने उहाँको योजना हो।'

दुई सातादेखि नै मन्त्री साउदले रुस जाने तयारी थालेको उनको निजी सचिवालयले जनाएको छ। 'यो नेपाल र नेपालीका लागि निकै ठुलो समस्या देखिएको उहाँको बुझाइ छ।

रुस नेपालको असल परम्परागत मित्र भएकाले यो समस्या समाधान हुने पनि उहाँको विश्वास छ। यसैले आफैं रुस पुगेर पहल गर्ने उहाँको योजना छ,' सचिवालयका एक सदस्यले भने।

प्रकाशित: ८ माघ २०८० ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App