रूस–युक्रेन युद्धको त्रासदी

रूस–युक्रेन युद्धको त्रासदी

रूसी सेनामा लागेर मारिने नेपालीको संख्या बढिरहेको छ । तर, राज्य बेखबरझैं छ ।

रुस र युक्रेन युद्धग्रस्त मुलुक हुन् भन्ने तथ्य जगजाहेर छ । यिनीहरू एकापसमा लडिरहेको दुई वर्ष पुग्न लाग्यो । हामीले त्यसको बाछिटास्वरूप मूल्यवृद्धि झेलिरहेका थियौं । तर, हाल आएर त्रासदीकै सामना गरिरहेका छौं । रूसी सेनामा लागेर मारिने नेपालीको संख्या बढिरहेको छ । युक्रेनले बन्दी बनाएको खबर पनि सार्वजनिक भएको छ । हाम्रो सरकार भने आफ्ना नागरिक मारिएका घटना सार्वजनिक भएपछि मात्र तातिएको छ । वैदेशिक रोजगार विभागले बल्ल युद्ध देखेजस्तो हालै मात्र ती दुई देशका लागि श्रम स्वीकृति रोकेको छ । नत्र विदेश पठाएका नागरिकको न चासो न त कुनै चिन्ता । श्रम स्वीकृति दिएर विदेश पठायो, सकियो । 

नेपाली युवालाई वैदेशिक रोजगार बाध्यात्मक बनेको छर्लंगै छ । स्वदेशमै रोजगारीको मौलिक हक त संविधानमै सीमित छ । किनकि, संविधानको धारा ३३ (१) मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुनेछ ।’ नागरिकलाई रोजीरोटीका लागि राज्यले देशमै रोजगार/स्वरोजगारको वातावरण मिलाइदिए को जालान् विदेश ? स्वदेशमा रोजगारी नदिने, काम गर्न विदेश ठेल्ने तर वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो पनि नबनाउने ? बरु वैदेशिक रोजगारका नाममा नेपालीहरू मानव तस्करको चंगुलमा परिरहेका छन् । त्यहीमाथि विदेशी सेनामा लागेर मारिनु जत्ति विडम्बना अरू के हुन सक्छ ? सरकारको नागरिकप्रतिको गैरजिम्मेवारी/नालायकी योभन्दा अरू हुन सक्दैन । 

पहिला पासपोर्ट बनाउने बेलादेखि ऋण लाग्थ्यो । अहिले राष्ट्रिय परिचयपत्र बनाउने बेलादेखि ऋण लाग्छ । किनभने, वैदेशिक रोजगारमा जानै पर्ने बाध्यतामा रहेकाहरू भनेका निम्न आय भएकाहरू हुन् । जो ऋणको बोझले थिचिएका हुन्छन् । तर, यस्ता ‘निमुखा’ नै बढी दलालको चंगुलमा फसिरहेका छन् । तस्करले प्रलोभनमा पार्छन् । फसाउँछन् । जो अनेक हन्डर, ठक्कर, दुःख, कष्ट, हैरानी भोग्न बाध्य भइरहेका छन् । तर, सरकार श्रम स्वीकृति दिएपछि आफ्नो अभिभारा पूरा भएजस्तो ठान्छ । 

 

रूसले युक्रेनमा आक्रमण थालेपछि नै ती मुलुकको श्रम स्वीकृतिमा किन रोक लगाइएन ? श्रम स्वीकृतिसहित विधि/प्रक्रिया पुर्‍याएर गएका नेपाली पनि कतै ती मुलुकका सैनिक भएर एकापसमै भिडिरहेका त छैनन् ? ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिकहरू रूसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएको समाचारहरू विभिन्न समाचारपत्रमा आइरहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिनसमेत भइरहेकोले’, विभागको सूचनामा लेखिएको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिकहरू रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’
विभागकै तथ्यांकअनुसार पुसमा २, मंसिरमा ४०, कात्तिकमा ४३, असोजमा ४७, भदौमा १ सय ६१, साउनमा ५३ जनाले रूसको श्रम स्वीकृति लिए । यो संख्या आर्थिक वर्ष २०७९/०८० मा ३ सय ८६ थियो । उक्त वर्ष ७ लाख ७१ हजार ३ सय २७ नेपाली श्रम स्वीकृति लिएर १ सय ४४ मुलुक गएका थिए । त्यस वर्ष युक्रेन जानेको संख्या देखिँदैन । त्यसअघि २०७८/०७९ मा भने १ सय ५२ जना युक्रेन गएको तथ्यांकले देखाउँछ । ८२ जना रूस उडेका थिए । उक्त वर्ष १ सय ४८ मुलुकका लागि ६ लाख ३० हजार ९० नेपालीले श्रम स्वीकृति लिएका थिए । 

यस तथ्यांकबाट प्रस्ट हुन्छ कि जोखिमपूर्ण मुलुकका लागि पनि श्रम स्वीकृति दिइएको छ । त्यसमाथि युद्धग्रस्त मुलुकमै आफ्ना नागरिक पठाउनु भनेको त गैरजिम्मेवारीको पराकाष्ठा हो । रूसी सेनाबाट भाग्न सफल एक नेपालीले मिडियासँग भनेका छन्– ‘यो बेला रूस जाने भनेको मर्नु जानु हो । रूसी सेनामा गएर फर्किने नसोचे पनि हुन्छ ।’ 

के ज्यानको माया मारेरै नेपालीहरू रूसी सैनिकमा भर्ना हुन गएका हुन् त ? अहिलेसम्म जति विवरण सार्वजनिक भएका छन् त्यसका आधारमा भन्ने हो भने अधिकांश तस्कर/दलालको चंगुलमा परेका हुन् । जसलाई दलालले सजिलै लाखौं रकम कमाउन सकिने प्रलोभनमा पारी भिजिट भिसामा सेटिङ मिलाएर त्यहाँ पुर्‍याए । समाचारहरूका अनुसार त्यसरी गएर सेनामा लागेकामध्ये ११ नेपाली मारिइसकेका छन् । यसरी युद्ध लडिरहेका नेपाली कति होलान् ? कुनै यकिन तथ्यांक छैन । परराष्ट्रमन्त्री एनपी साउदले हालै भनेका थिए, ‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको खुलेको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने, सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ ।’

कोही सम्पर्कविहीन भए या मारिए भने मात्र रूसी सेनामा लागेको तथ्य बाहिर आइरहेका छन् । तब यता परिवारजन बिलौना गर्छन् । युद्धमा फसेकाहरूको उद्धार गर्न गुहार माग्छन् । यस्तो अवस्थामा सरकारले कूटनीतिक पहलमार्फत नागरिकको उद्धार गर्नुपर्ने हो । तर, मारिएका नेपालीको शवसमेत आएको छैन । अवस्था बडो दर्दनाक छ । भयावह छ । 

पहिला त्रिपक्षीय सन्धिअनुसार गोर्खा भर्तीका नाममा विदेशी सेनामा लागेर हजारौंले ज्यान गुमाएको विगत छ । त्यो भनेको सरकारले सम्झौता गरेरै आफ्ना नागरिकलाई पठाएको थियो । गोर्खा भर्तीमार्फत बेलायत र भारतीय सेना अनि सिंगापुर प्रहरीमा अझै पनि कार्यरत छन् । रूससँग त सरकारले सम्झौता गरेको होइन । यसअर्थमा त्यहाँको सेनामा जानु भनेको अवैध हो । तर, अवैध ढंगले गएका भनेर राज्य नागरिकप्रतिको दायित्व/जिम्मेवारीबाट पन्छिन मिल्दैन । युद्धमा फसेकाहरूलाई हाम्रा कूटनीतिक निकायहरूमार्फत उद्धार गर्नुपर्छ । मानव तस्करी रोक्नु त पर्छ नै । विधि पुर्‍याएर युद्धग्रस्त मुलुक पुगेका नागरिकलाई फिर्ता ल्याउनुपर्छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रूसले विदेशीलाई आफ्नो सेनामा भर्ना हुन प्रेरित गरिरहेको छ । तर, विदेशीलाई युद्धको अग्रमोर्चामा खटाउँछन् । यो भनेको जानाजान ‘कालको मुख’मा धकेल्नु हो । तसर्थ सरकारले द्विपक्षीय वार्ता होस् या अन्य प्रभावकारी कूटनीतिक पहलकदमीमार्फत ती नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन जरुरी छ । मानवअधिकार आयोगले मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो परम्पराअनुसार दाहसंस्कार गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको थियो । स्वदेश फर्कन चाहनेलाई फर्कने वातावरण मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएको थियो । गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेको थियो । तर, सरकारको पहल परिणाममुखी बन्न सकेको छैन । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.