कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भिजिट भिसामा जानेका लागि नयाँ नियम

भिसा र दुईतर्फी हवाई टिकट भए अनुमति दिइने

काठमाडौँ — गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाएको छ । बुधबारदेखि भिसा र दुईतर्फी हवाई टिकट भएको यात्रुलाई अनुमति दिने भएको हो ।

भिजिट भिसामा जानेका लागि नयाँ नियम

उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्यटकीय भिसामा नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुहरूलाई अनुमति दिनेसम्बन्धी लचिलो नीति लिएका हुन् । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी उनले भिजिट भिसामा विदेश प्रस्थान गर्दा नेपाली यात्रुहरूलाई अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ (२) को (घ)को अलावा थप ६ बुँदालाई आधार मानी प्रस्थान अनुमति दिने निर्णय गरेका थिए ।

अब कम्तीमा ६ महिनाको वैध अवधि भएको, गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा हुनु मुलुकमा दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, कम्तीमा ५ सय डलर भएको भिजिट भिसामा विदेश जान पाइने अध्यागमनले जनाएको छ । संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने जनाएको छ ।

यसअघि सचिवस्तरको निर्णयले भिजिट भिसामा जान कडाइ गरिएको थियो । जसमा खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाइने थियो ।

त्यस्तै न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरु, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका, आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति ( एकाघरका आमाबाबु, सासू ससुरा, छोराछोरी, श्रीमान्-श्रीमती, र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेत, गन्तव्य मुलुकमा रहेको राजदूतावास / नियोगबाट प्रमाणित कागजात सहित सिफारिस भएका व्यक्तिहरु, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु लगायत रहेका थिए । वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तीमा सो को आधा रकम बैंक खातामा वचत भएको हुनुपर्ने थियो ।

विभागले ‘भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेटन जाने प्रयोजन र पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र’ भएको जनाएको छ । ‘भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ’, विभागले जयात्रा परामर्श जारी गर्दै भनेको छ,‘भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनका लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउनु हुन अनुरोध गर्दछ ।’

विभागले भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले नक्कली कागजात पेश गर्ने, झूटा विवरण तयार गर्ने, भिसाको उद्धेश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्धेश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न थप सजगता अपनाउनु अनुरोध गरेको छ ।

‘श्रम गन्तव्य मुलुकहरु कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइन जस्ता देशहरूमा बिचौलियाहरुको प्रभावमा महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाादै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहुन अनुरोध छ,’ विभागले भनेको छ ।

*यसअघिको समाचारमा गृह मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिअनुसार केही नियम अन्यथा हुन गएकोमा भूलसुधारसहित सच्याइएको छ । - सम्पादक

प्रकाशित : माघ ९, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?