कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

रुस-युक्रेन युद्धमा प्यूठानका युवकको मृत्यु

मृत्यु हुने नेपालीको संख्या १२ पुग्यो

प्यूठान — रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । 

रुस-युक्रेन युद्धमा प्यूठानका युवकको मृत्यु

सुनार दुई वर्षअघि रोजगारीका लागि कतार गएका थिए । दुई महिनाअघि कतारबाट रुस गएर सेनामा भर्ती भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताए । ‘दुई वर्षजति कतारमा काम गर्‍यो, दुई महिना भयो रुस गएको,’ सुनारका छिमेकी खगेश्वर थापाले भने, ‘युद्धमा परेर मृत्यु भएको खबर आयो ।’

सुनारको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ । यसअघि परराष्ट्रले १० नेपालीको मृत्यु भएको पुष्टि गरिसकेको छ । मन्त्रालयले मृत्यु पुष्टि गरेकामा स्याङ्जाका हरिप्रसाद अर्याल र प्रितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङ परिवारले भने उनको काजकिरिया गरिसकेको छ । परराष्ट्रले १० र पारिवारिक स्रोतबाट भएको पुष्टिले १२ नेपालीको मृत्यु भएको खुल्न आएको हो ।

प्यूठानका सुनारको दुई साताअघि मृत्यु भए पनि परिवारका सदस्यलाई बुधबार मात्रै जानकारी दिइएको हो । कतारबाट दलालको सहायतामा सुनार रुस पुगेको सुनारका छिमेकी थापाले बताए । रुस पुगेलगत्तै युद्धमा होमिएका सुनारको मृत्यु भएको उनीसँगै कार्यरत अर्का एक नेपालीले जानकारी दिएको थापाले बताए । ती युवकले आफू घाइते भएको र सुनारको मृत्यु भएको अडियो सन्देश पठाएका छन् । ‘अर्को एक जना साथी घाइते हुनुहुन्छ, उहाँले नै खबर गरेपछि घरमा थाहा पाएका हौं,’ उनले भने ।

श्रीमती र अढाई वर्षका छोरा रहेका सुनार एक महिनायता परिवारको सम्पर्कमा थिएनन् । कतारबाट घर फर्कने बेला हुनै लाग्दा परिवारका सदस्यलाई उनले रुसमा काम गरे धेरै पैसा पाइने भन्दै उता गएको सुनाएका थिए । आर्थिक अवस्था कमजोर भएको सुनार परिवारमा उनका बुबा कालबहादुर भारतको जयपुर र भाइ अनुज चेन्नई रोजगारीमा गएका थिए । छोराको मृत्युको खबर पाएसँगै बुबा घर फर्किएका छन् भने अनुज पनि आउँदै छन् । आमा, श्रीमती र अढाई वर्षीय छोरा मात्र गाउँमा बस्दै आएका थिए । परिवारका जेठो छोराको रुसी सेनामा मृत्यु भएपछि परिवारमा रुवाबासी चलेको स्थानीय तालबहादुरले बताए ।

परिवारका सदस्यले परराष्ट्र मन्त्रालयमा आफ्नो छोराको अवस्थाबारे बुझिदिन आग्रह गरेका छन् । उनीसँगैका साथीले मिसाइल खसेर सुनारको मृत्यु भएको र आफू घाइते भएको खबर गरेका हुन् । मिसाइल खसेर आफूसहित दुवै जना घाइते भएको र सुनारको केही समयपछि मृत्यु भएको खबर उनले सुनाएका हुन् ।

प्रकाशित : पुस २७, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?