• ३ जेठ २०८१, बिहिबार

एकसय ४४ लाई सिमानाकाबाट घर फिर्ता

blog

वार्षिक प्रगति प्रस्तुत कार्यक्रममा सहभागीहरू । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस २९ गते । मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेको शङ्कास्पद एकसय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।

शनिबार नेपालगन्जमा भएको कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले उक्त कुराको जानकारी दिनुभयो । नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेका ९१ जना महिला र ५३ जना पुरुष गरी शङ्कास्पद १ सय ४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको अधिकृत नेपालीले बताउनुभयो ।

उहाँका अनुसार सो वर्षमा तीन जनालाई शक्ति समूहको सेल्टर होममा पठाइएको र एक हजार ७ सय ७३ जनालाई सिमानाकाको बुथमै सूचना तथा परामर्श सेवा प्रवाह गरिएको छ । यो आर्थिक वर्षको पुससम्ममा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरिएको र दुई जना महिलालाई उद्धार गरी साथी संस्थामा पठाइएको छ ।

बाँके, बर्दिया, दाङ, कपिलवस्तु र जुम्लाका दलित, सीमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद् पीडितलाई लक्षित गरी विभिन्न सामाजिक कार्यहरू समेत सञ्चालन गर्दैआइरहेको संस्थाका उपाध्यक्ष डा. डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।

संस्थाले लक्षित वर्गको आर्थिक विकास, सामुदायिक सशक्तीकरण, प्रत्यक्ष सहयोग तथा सेवामुखी कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा बाँके, बर्दिया, दाङ, कपिलवस्तु र जुम्लाका विपन्न तथा असहाय अवस्थाका १ सय १९ जना बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । 

वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यावसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालन लगायतमा सहयोग गरिरहेको उपाध्यक्ष धितालले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गत वर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ । खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा बस्ती र दाङको दुईवटा बस्तीका बासिन्दालाई सामुहिकरुपमा खानेपानी उपभोग गर्न मोटरजडित पानी ट्याङ्की निर्माण गरी खानेपानीको व्यवस्था गरिदिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले जुम्लाको सिञ्जामा दृष्टिविहीन तथा विपन्न विद्यार्थीलाई छात्रवाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रावासमा ५ देखि २१ वर्ष उमेर समूहका ६ महिला र १० पुरुष गरी १६ जना दृष्टिविहीनहरूले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेको ज्ञान नेपालले जनाएको छ ।

गतवर्ष मुगु र जुम्लामा गएको पहिरोमा परी पीडित जुम्ला सिञ्जा क्षेत्रका ६७ पहिरोपीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।