कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

रुसी सेनामा भर्ती भएकाका आफन्तहरूको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्

रुसी सेनाबाट भागेर फर्किएका सुमन राई भन्छन् :  ‘हामी नेपालीहरू सिधै फिल्डमा नै जाने हो । उनीहरू हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्ने चान्स त कम नै हुन्छ ।’ 

काठमाडौँ — रुसी सेनामा भर्ती भएकाका आफन्तले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

रुसी सेनामा भर्ती भएकाका आफन्तहरूको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्

उनीहरूले सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरू बाँच्ने अवसर शून्य बराबर हुने बताए । उनले रुसी सेनाले नेपालीहरूलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताए । युक्रेनीहरू क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालिरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए ।

‘हामी नेपालीहरू सिधै फिल्डमा नै जाने हो । उनीहरू हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्नै चान्स त कम नै हुन्छ । बाँच्नै चान्स नै छैन । बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरू सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरूले हामीलाई नापी नापी हानेको हुन्छ । हामी नेपालीहरू धेरै मरिरहेको हुन्छ । उनीहरूले सार्वजनिक गरेको छैन । ४ देखि ५ सयभन्दा बढी नेपालीहरू मरिसकेका छन्,’ उनले भने ।

राईका अनुसार अहिलेसम्म सार्वजनिक नभएको भए पनि ५ सयभन्दा बढी नेपालीहरूले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरूलै छिटोभन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरु धेरै नै समस्यामा रहेको बताए । उनीहरुले पैसाकै लोभमा गएको भए पनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए । उनीहरूले सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने र त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको बताए ।

प्रकाशित : माघ १९, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?