• ३ जेठ २०८१, बिहिबार

रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा

blog

काठमाडौँ, माघ २० गते । मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा कम देखेपछि पदमले सैनिक क्याम्पबाट भागेर नेपाल फर्किन प्रयास नगर्नुभएको होइन । सैनिक इलाकाबाट बाहिर निस्कन सफल पदमलाई दुई पटक रुसी सेनाले पुनः पक्राउ गरेर युद्ध मैदानमा होमिदियो । सैनिक क्याम्पबाट फोनबाट कुरा गरिरहने पदम दुई महिनादेखि सम्पर्कविहीन भएपछि पत्नी टिना पीडामा पर्नुभएको छ । अनेक आशङ्काबिच साना छोराछोरी काखमा च्यापेर टिना पदमको प्रतीक्षामा हुनुहुन्छ ।

“दलालको प्रलोभनमा परेर पाँच महिनाअघि श्रीमान् रुस पुग्नुभयो । रुसी सेनाले जबरजस्ती युद्ध मैदानमा होमिदिएछ । उहाँले दुई पटक भागेर निस्कने प्रयास पनि गर्नुभयो तर रुसी सेनाले समातेर फेरि युद्धमै होमिदियो । त्यसपछि उहाँ हाम्रो सम्पर्कमा आउनुभएको छैन,” बोल्दाबोल्दै टिना भक्कानिनुभयो । 

रुसी सेनामा भर्ना भएका, आफन्त गुमाएका, सम्पर्कविहीन बनेका र भागेर नेपाल आएका गरी झन्डै २० जनाका आफन्त परिवारको उद्धारका लागि टिनासँगै काठमाडौँको अनामनगरमा भेला भएका छन् । उहाँहरूको एकै स्वर थियो, “सरकार जसरी भए पनि हाम्रा आफन्तको छिटो उद्धार गर ।” 

मासिक दुई लाख ६५ हजार रुपियाँ तलब पाउने आशामा गत असोज १८ गते दलाललाई १० लाख रुपियाँ बुझाएर रुसी सेनामा भर्ना भएका खोटाङका सुमन राईले पनि एक महिना १८ दिनको तालिमपछि युद्धमा होमिनु पर्‍यो । युद्धको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “युक्रेनी सेनासँगको लडाइँमा रुसी सेनाले हामी जस्तालाई अघिल्लो पङ्क्तिमा खटाउँदो रहेछ । भाषा र भूगोलको जानकारी नभएका हामी त्यो युद्ध मैदानबाट फर्किने त सम्भावना नै रहेनछ ।” 

उहाँले आफूसँगै लडाइँमा होमिएका छ जना आँखाअगाडि मारिएको देखेपछि दलाललाई पुनः ३० लाख रुपियाँ बुझाएपछि भागेर नेपाल फर्किएको बताउँदै सरकारले जति सक्यो छिटो उद्धार नगरे त्यहाँ रहेका नेपाली युवा ज्युँदो फर्किने सम्भावना अत्यन्तै कम रहेको बताउनुभयो ।

युक्रेनसँगको युद्धमा खटिने विदेशी सैनिकलाई रुसले एक वर्षपछि परिवारलाई नागरिकता, मासिक चार लाख ५० हजार रुपियाँ तलब दिने घोषणा गरेपछि विभिन्न दलाल र गिरोहबाट रसिया पुग्ने नेपालीको सङ्ख्या सयौँ हुन सक्ने अनुमान गरिएको छ । युद्धमा मारिने सैनिक परिवारलाई क्षतिपूर्तिस्वरूप छ करोड रुबेल (करिब आठ करोड ७३ लाख रुपियाँ) क्षतिपूर्ति दिने घोषणा गरेको छ । यही प्रलोभन देखाएर गिरोहले नेपाली युवालाई रुस पुर्‍याएर सेनामा भर्ती गराउने गरेको पाइएको छ ।

उद्धारका लागि पहल र सहजीकरण गरिरहनुभएकी कृतु भण्डारीका अनुसार मृतक परिवारलाई रुसी सरकारले ठुलो रकम क्षतिपूर्ति दिनुपर्ने भएपछि रुसी सेनाले कतिपय मृतकलाई बेपत्ताको सूचीमा राख्ने गरेको शङ्का व्यक्त गर्नुभयो । गत मङ्सिर १८ गते युक्रेन–रुस युद्धमा मारिएका धादिङ गङ्गाजमुना–३ का २४ वर्षीय पूर्णबहादुर गुरुङका परिवारले युद्धमा होमिँदाको तलब र मारिएपछि क्षतिपूर्ति नपाउनुले कृतुको शङ्का सत्य साबित हुन पुग्छ । 

मृतक पूर्णबहादुरका दाइ श्यामबहादुर गुरुङले रुस–युक्रेन युद्धमा परिवारको सदस्य गुमाएको पीडा सुनाउँदै तलब र क्षतिपूर्तिसमेत नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्नो भाइले जस्तै अन्य नेपालीले विदेशी भूमिमा ज्यान गुमाउन नपरोस् भन्दै रुसी सेनामा फसेका सम्पूर्ण नेपालीलाई यथासक्य छिटो उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो । 

सरकारले गत असोजमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार युक्रेन–रुस युद्ध सुरु भएपछि नेपालबाट रुस पुग्नेको सङ्ख्या एक हजार ७२९ जना पुगेको छ । जसमा ७४९ जना विद्यार्थी, ३५६ जना श्रमिक तथा २८८ जना पर्यटक भिसाको माध्यमबाट पुगेको पाइएको छ । तीमध्ये हालसम्म ९६ जना विभिन्न माध्यमबाट नेपाल फर्किन सफल भए पनि दोस्रो मुलुक हुँदै पुगेका थप सयौँ नेपाली उद्धारको पर्खाइमा छन् ।