कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

भिजिट भिसाको आवरणमा मानव तस्करी भएको घटनामा प्रहरीले अध्यागमनका कर्मचारीमाथि अनुसन्धान थालेपछि दुई पक्षबीच असझदारी बढ्दै
सुदीप कैनी

काठमाडौँ — अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । 

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कार्यस्थलमै एकअर्कामाथि हातपात भएको थियो । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ । सीसी क्यामरा फुटेजमा समेत मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपातको दृश्य सार्वजनिक भएको छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् ।

शुक्रबार दिउँसो १२ बजे अध्यागमन अधिकृत मोक्तान विमानस्थलको आगमन कक्षबाट प्रस्थान कक्षतिर जाँदै गर्दा एक प्रहरी जवानसँग विवाद सुरु भएको थियो । मेटल डिटेक्टर भएको स्थानमा प्रहरीले शरीर खानतलासी गर्न खोज्दा विवाद भएको भिडियोमा देखिन्छ । त्यसपछि एकअर्कालाई हात र लात्तीले हानेका थिए । त्यसपछि त्यहाँ प्रहरी अधिकृत र अन्य कर्मचारीसमेत भेला भएर हूलहुज्जत भएको थियो ।

भिजिट भिसाका नाममा मानव तस्करी अनियमिततामा छानबिन, अनुसन्धान र त्यसपछि कडाइ गर्दा विमानस्थलका प्रहरी र कर्मचारीबीच अविश्वास बढ्दै गएर हातपातको अवस्थासम्म पुगेको गृह मन्त्रालयका अधिकारीहरूले बताए । अध्यागमन कर्मचारी र प्रहरी दुवैले यसलाई स्वीकार गरेका छन् । ‘मूल गेटमा जाँच गराएर ड्युटीमा पुगेपछि मेटल डिटेक्टरमा परीक्षण गराएर एक कोठाबाट अर्को कोठामा जाँदा पनि प्रहरीले शरीर छामछुम गर्न थाल्यो,’ अध्यागमनका एक अधिकृतले भने, ‘प्रहरीले कर्मचारीलाई हैरानी नै दिन थालेपछि आक्रोश सार्वजनिक भएको हो ।’

भिजिट भिसा अनियमिततामा कर्मचारीलाई मात्रै निसाना बनाएर प्रहरीले एक महिनादेखि जाँच बढाएको ती अधिकृतले बताए । ‘हाम्रो ड्युटी कि आगमन कक्षमा पर्छ, कि प्रस्थान कक्षमा । त्यहाँसम्म जाँच गराएरै जान्छौं,’ उनले कान्तिपुरसित भने, ‘पानी पिउन, पोसाक चेन्ज गर्न, भेटघाट गर्न एउटा कक्षबाट अर्को कक्षमा जाँदा पनि दुर्व्यवहार गर्ने तरिकाले शरीर खानतलासी लिएर प्रहरीले दुःख दिने क्रम बढ्दै गएको छ ।’ शुक्रबार अध्यागमन अधिकृतको परिचय दिँदादिँदै शरीर छाम्न आएका जवानले अपशब्द बोल्दै पहिले हात छाडेको कर्मचारीको आरोप छ ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले भने प्रहरीलाई हेप्दै मोक्तानले नै पहिले मुख र हात छाडेको दाबी गरे । ‘अधिकृत मोक्तानले एक साताअघि क्यानका कर्मचारी गोपाल घिमिरेलाई पनि कुटेका थिए,’ उनले भने, ‘भिजिट भिसामा विदेश मान्छे पठाएर कमाउने धन्दाको सेटिङ बन्द भएपछि कर्मचारी छटपटाएका छन् ।’ प्रहरीले पहिलेदेखि नै जाँच गर्दै आए पनि अध्यागमन अधिकृतहरूको कमाइ घट्न थालेपछि कहिले काम बन्द गर्ने कहिले लफडा गर्ने गरेको उनले बताए । ‘भिजिट भिसाबाट मान्छे विदेश पठाउन सेटिङका लागि मलाई ६० लाखको अफर आएको थियो । त्यो स्वीकार गरिनँ, उल्टो प्रहरीले कडाइ गर्न थाल्यो । कर्मचारी आक्रोशित हुँदै गए,’ डीआईजी ठकुरीले कान्तिपुरसँग भने । कर्मचारीहरूले भिजिट भिसा सेटिङमा दैनिक १ करोडसम्म उठाउने गरेको प्रहरीको दाबी छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले प्रहरीले गरेको कामकारबाहीप्रति कर्मचारीको असन्तुष्टि नरहेको बताए । ‘अरू नै कारण घटना भएको हुन सक्छ । समितिको रिपोर्टमा कारण खुल्छ होला,’ उनले भने । महानिर्देशक तामाङले कर्मचारीलाई पनि छानबिन र अनुसन्धानमा ल्याएर प्रहरीले राम्रो काम गरेको जनाए । अनुसन्धानमा अध्यागमनका कर्मचारीले युवायुवतीसँग पैसा लिएर भिजिट भिसामार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको थियो । त्यसमा संलग्न केही अधिकृतमाथि मुद्दा दर्ता भएर प्रक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसपछि प्रहरीले अध्यागमनका कर्मचारीमाथि निगरानी बढाउन थालेको हो ।

कर्मचारीले पुस १८ गते काम रोकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका थिए । त्यसपछि माघ ९ मा गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी गृहमन्त्री श्रेष्ठले कार्यविधि जारी गरेका हुन् । पुरानो कार्यविधिमा भिजिट भिसामा विदेश जाने प्रावधानमा कडाइ गर्दा पैसाको चलखेल हुने गरेको गुनासो आएको थियो ।

प्रकाशित : माघ १४, २०८० ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?