• २ जेठ २०८१, बुधबार

सरकार र निजी क्षेत्रबिच सम्झौता

एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी

blog

काठमाडौँ, माघ १५ गते । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार ६६५ जनाले विभिन्न उद्योगका लागि आवश्यक सिप तथा क्षमताको प्रशिक्षण र त्यसपछि रोजगारी प्राप्त गर्ने छन् । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसङ्घका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

एप्रेन्टिससिप कार्यक्रममा सम्झौता गर्ने उद्योगहरूमा लिटमस् इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानिफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् । सम्झौता अनुसार यी उद्योगले कुल एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षण दिएर सोपश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्ने छन् । प्रशिक्षार्थी कामदारको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्ने छ । 

सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने बताउनुभयो । कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सबै पक्षलाई क्रियाशील भएर काम गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रमलाई नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षका लागि नौ वटा उद्योगले दुई हजार एक सय प्रशिक्षार्थीका लागि परिसङ्घमार्फत आवेदन दिएको जानकारी दिनुभयो । पाठ्यक्रम तथा अन्य चुनौतीका कारण छ वटा उद्योगसँग मात्र यस कार्यक्रमका त्रिपक्षीय सम्झौता हुन सम्भव भएको उहाँले बताउनुभयो । अन्य उद्योग इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा एक हजार ६६५ जनालाई मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको उहाँले स्पष्ट पार्नुभयो । लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरेले दक्ष जनशक्ति विकास गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा सरोकार पक्षहरूबिच त्रिपक्षीय सम्झौता हुनु ठुलो उपलब्धि भएकाले यसलाई थप सफल बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।