• १४ जेठ २०८१, सोमबार

विदेशबाट फर्केका उद्यमीलाई सम्मान गरिने

blog

काठमाडौँ, फागुन २ गते । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग गरेको हो । 

श्रम मन्त्रालयका अनुसार ‘विदेश काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को व्यवस्थाबमोजिम हरेक वर्ष विदेशबाट फर्किएका सफल उद्यमी युवालाई पुरस्कृत गर्दै आएको छ । 

यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा भएको र विगत छ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ । 

सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । 

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्ने छ ।प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ ।

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपियाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजार रुपियाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउने छन् ।