२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सीपयुक्त जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक : श्रम मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिवीको रेखामुनि रहेको मानिसहरुलाई श्रम बजारमा जोड्नको लागि प्रधानमन्त्री रोजगारी कार्यक्रम आवश्यक रहेको जनाएको छ । श्रम बजारलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादन गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नयाँ ढाँचामा लैजान श्रम मन्त्रालयले आन्तरिक तयारी थालेको हो ।

सीपयुक्त जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक : श्रम मन्त्रालय

ऋण सहायतामा आधारित यो कार्यक्रम आँउदो असारदेखि सकिँदैछ । मन्त्रालयले यो कार्यक्रमलाई रोजगार सेवा केन्द्रमार्फत् सीपयुक्त जनशक्ति उत्पादन र सूचना प्रवाहमा सुदृढिकरण गर्नुपर्ने भनेको हो ।

‘गत हप्ता मात्रै प्रकाशित जीवन निर्वाह सर्वेक्षणले गरिवीको रेखामुनि ६० लाख मानिसहरु रहेको देखाएको छ । उनीहरु दिनको दुईसय रुपैयाँ भन्दा कममा जीवन बाँच्दछन् । २ सय ज्याला भयो भने खान त पुग्ला, तर उसको घर, शिक्षा, स्वास्थ्य धान्न कठिन छ । त्यत्रो ठुलो जनसख्यापछि परेको छ’, श्रम सचिव केवलप्रसाद भण्डारीले भने, ‘त्यसलाई श्रम बजारमा कसरी ल्याउने हो ? हामीलाई रोजगारी भन्ने बित्तिकै वाइट कलर रोजगारीको कुरा गछौं । सरकारी सेवा, सेना, प्रहरी भन्छौं । जुन कामको लागि मान्छेहरु चाहिएको छ । त्यसमा हामीले ध्यान दिन सकेको छैनौं ।’

उनले स्थानीय तहमा रहेको रोजगारी सेवा केन्द्रमार्फत् वेरोजगारीलाई सीपयुक्त बनाई श्रम बजारमा जोड्ने काम अगाडि बढिरहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीका लागि यो वर्ष ८ लाख ८५ हजार १५४ जनाले बेरोजगार सूचीकृत गरेका छन् ।

‘आफ्नो ज्यालाले आफूमात्रै निर्वाह हुन्छ भने त्यस्तो किसिमको रोजगारीको काम भएन । आफ्नो ज्यालाबाट परिवार, बालवच्चाको हेरचाह गर्ने किसिमको कामहरु गर्न सकियो भने मात्रै नागरिकको हित हुन्छ । यी कुरालाई ध्यान दिन हामी यो काम गर्न सुरु गरिरहेका छौं,’ बिहीबार श्रम मन्त्रालयद्धारा आयोजित नेपालमा सार्वजनिक रोजगार सेवा सम्बन्धी नीति संवाद र परामर्श कार्यशालालाई सम्बोधन गर्दै सचिव भण्डारीले भने,‘श्रम बजारमा समावेशिताको ठुलो प्रश्न छ । श्रम बजारमा महिला, पछाडि परेको समुदायलाई प्रतिनिधित्व गर्न सकिएन भने समाजमा असमानताहरु बढ्छ ।’

सचिव भण्डारीका अनुसार बार्षिक रुपमा विद्यालय छाड्ने सहित १० लाख जना श्रम बजारमा आइरहेका छन् । ‘श्रम बजारमा जाने आउने सबैको लागि आधारभुत तालिम दिन सकिएको छैन । वैदेशिक रोजगारीमा जाने लाखौमा केही हजारसँग मात्रै सीप छ । भारतमा जानेलाई पनि सीप दिन सकिएको छैन । भारतबाट आउनेहरु पनि अर्धदक्ष छन्’, उनले भने,‘हामी यही गरिरहेका काम हामी गर्दैनौं । यहा चाहिएको काम हामी बाहिर गरिरहेका छौं । उद्योगधान्दा, कलकारखानाले खोजेको मान्छे पाइरहेको छैन । हाम्रो मान्छेले कहा काम पाइन्छ भन्ने थाहा पाउदैनन् । पढेलेखेकोलाई कहाबाट सुचना पाइन्छ भन्ने थाहा पाउदैनन् ।’

श्रम मन्त्रालयले सीपयुक्त जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ । ‘अनुत्पादक क्षेत्रमा गरेको लगानीलाई रोजगार सेवा केन्द्रजस्तो कार्यक्रममा लगानी गर्नुपर्छ । सीप, तालिम र रोजगारीका सुचनाहरु आदनप्रदान गर्ने संयन्त्र वनाउनपर्छ’, उनले भने,‘मान्छे काम गर्ने उमेर भइसकेपछि कहाँ काम गर्ने भनेर सुचना पाउने संयन्त्र संसारभरि छ । हामीकहाँ छैन । हामीले यसमा काम गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन ३, २०८० २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?