• १३ जेठ २०८१, आइतबार

‘गृह श्रमिकको प्रवर्धनात्मक नीति आवश्यक’

blog

काठमाडौँ, फागुन ६ गते । गृह श्रम बजारको व्यवस्थापन, श्रमिकको पहिचान र त्यस्ता श्रमिकले उत्पादन गरेका वस्तु तथा सेवाको उपयुक्त मूल्य व्यवस्थाका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिइएको छ । विश्व सामाजिक मञ्चले दक्षिण एसियाका गृह श्रमिकका समस्या र चुनौतीका विषयमा आयोजना गरेको छलफलमा सहभागी गृह श्रमिक तथा अभियन्ताहरूले गृह श्रमिकसम्बन्धी स्पष्ट नीति नबन्दा श्रमको मूल्य र पहिचानमै समस्या भएको औँल्याएका छन् ।

छलफलमा श्रम तथा सामाजिक अध्ययन केन्द्रका कोषाध्यक्ष गोमा पाण्डेले आआफ्नै घरमा बसेर, सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सिपमूलक काममार्फत आयआर्जन गर्ने गृह श्रमिकले उत्पादन गरेका वस्तुहरू उचित मूल्यमा बिक्री गर्न राज्यले श्रम बजारको व्यवस्थापनसहित यसमा संलग्न श्रमिकको पहिचान, सम्मान गर्ने नीति ल्याएमा श्रमकै लागि बिदेसिनुपर्ने बाध्यता र बेराजगारी कम गर्न मद्दत मिल्ने बताउनुभयो । 

सो अवसरमा होमनेट दक्षिण एसियाका क्षेत्रीय संयोजक सृष्टि जोशीले गृह श्रमिकबारे सन् २००० मा काठमाडौँ घोषणापत्र जारी भए पनि दक्षिण एसियाका आठ देशमा हालसम्म पनि यस क्षेत्रका श्रमिकले श्रमको मूल्य र पहिचान नपाउनु न्यायसङ्गत नभएको बताउनुभयो । 

आफ्नै श्रम, सिपका माध्यमबाट अनौपचारिक रूपमा घर, घरमै विभिन्न सामग्री उत्पादन गर्दै आर्थिक उपार्जन गरी देशको अर्थतन्त्रमा योगदान पु-याइरहेको तर यस्तो योगदानको कदर राज्यबाट हुनुपर्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का परियोजना व्यवस्थापक बन्दना अर्यालले आइएलओ अभिसन्धिको १७७ नम्बरको बुँदाले गृह श्रमिकको हक हितबारे व्याख्या गरेको उल्लेख गर्दै यसको अनुमोदनका लागि गृह श्रमिकसँग सम्बन्धित सङ्घ संस्थाले जोड दिनुपर्ने बताउनुभयो । 

पाकिस्तानका गृह श्रमिक अभियन्ता उमा लैला अजहरले पाकिस्तान सरकारले आइएलओ अभिसन्धि १७७ हालसम्म अनुमोदन नगरेको र राज्यले यससम्बन्धी नीति पनि नबनाएकाले त्यहाँका गृह श्रमिकको अवस्था नाजुक नै रहेको जानकारी दिनुभयो ।

गृह श्रमिकको नेतृत्व गर्नुहुने मञ्जु गजुरेलले विगत ३० वर्षदेखि सिलाइ, कटाइ, बुनाइ, अचार बनाउनेलगायतका काम गर्दै सङ्गठित भएका गृह श्रमिकले अझै पनि आफ्नो श्रमको मूल्य नपाउने समस्यासँग जुधिरहनु परेको गुनासो गर्नुभयो । 

श्रमिकहरूद्वारा स्वरोजगारका रूपमा आफ्नो बासस्थानमै सिप र श्रमको प्रयोग गरी सिलाइ, बुनाइ, बेतबाँस, माटा, काठ, ढुङ्गा, थाङ्का, ढाकाका कपडा, पोते, क्रिस्टलका सामग्री, इम्ब्रोइडरी, मखमलका जुत्तालगायतका वस्तुहरू तयार गर्ने कामलाई होमनेट साउथ एसियाले गृह श्रमिकको पहिचानसहित टे«ड युनियन र सूचीकरण गर्नुपर्नेमा पैरवी गर्दै आएको छ । 

 केन्द्रीय तथ्याङ्क विभागको श्रमसम्बन्धी सर्वेक्षण २०१७/१८ ले नेपाली श्रमशक्तिको १९.२ सक्रिय रहेको र स्वरोजगारसहित गृह श्रमको क्षेत्रमा ७० प्रतिशतभन्दा बढी महिलाको योगदान रहेको अनुमान आकलन गरेको छ । 

नेपालमा गृह श्रमिकको छुट्टै सर्वेक्षण नभए पनि करिब १२ लाख जनाले गृह श्रमिकका रूपमा काम गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याएको गृह श्रमिक अभियन्ताहरूको दाबी छ । साथै स्थानीय श्रम डेस्कमा गृह श्रमिकहरू पञ्जीकरण हुन जाने र योगदानमा आधारित सामाजिक सुरक्षासँग जोडिन आग्रह गरिएको छ ।