६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशको सीप, स्थानीय परिकार र अर्गानिक स्वाद

कामको खोजीमा १० वर्ष विदेश बसेका जुम्लाको गुठीचौर गाउँपालिका ३ गर्जाङकोट गाउँका चित्रबहादुर बुढा गाउँमै नमुना उद्यम सञ्चालन गर्छन्। उनले गाउँदेखि झन्डै एक घन्टा पैदल दूरीमा पर्यटकीय स्थल सानो गुठीचौरमा ‘सुर एन्ड सुपुन्न अर्गानिक होटल’ सञ्चालन गरी स्थानीय उत्पादनको स्वाद चखाइरहेका छन्।

उनको होटलमा पाक्ने फापरको केक, फापरको रोटी, मार्सी चामलको भात, मकै र सिमी मिसाइएको कोल, आलुको परौठा र जंगली सागको तरकारी खान पाएर आन्तरिक तथा बाह्य पर्यटक मक्ख छन्। उनले भने, ‘पोसिलो, स्वादिलो, पोटिलो र रसिलो खानेकुरा यहाँ पाइन्छ। मात्र बनाउने तरिका अभाव छ। विदेशमा सिकेको सीप प्रयोग गरेर परिकार चखाइरहेको छु।’

चित्र अहिले अर्गानिक वस्तुका परिकार बनाउने उद्यमीका रूपमा चितपरिचित छन्। उसो त गाउँका सबै स्थानीय उत्पादन खरिद गरेर किसानलाई परिकार बनाउन उनैले सिकाउँछन्। विदेशमा सिकेको उनको सीप अहिले गाउँमा कार्यान्वयन भइरहँदा स्थानीय अचम्मित छन्।

२०६६ सालमा एसएलसी गरेर १९ वर्षको उमेरमा चित्रबहादुर बिदेसिएका थिए। उतिबेला उनको पहिलो विदेश यात्रा थियो, कुबेत। त्यहाँ दुई वर्ष बिताएका उनका लागि कुनै बेला बहराइन, कतार र दुबई त पानीपँधेरो नै भए।

विदेशका पाँचतारे होटलमा हेल्पर हुँदै कुकसम्म काम गरेको अनुभव रहेको उनी सुनाउँछन्। होटलमा सुपरभाइजरका रूपमा काम गरिसकेका बुढालाई अहिले गाउँमा अर्गानिक वस्तुको स्वाद चखाउन भ्याइनभ्याइ छ।

होटलबाट अहिले मासिक न्यूनतम ६० देखि ७० हजार बचत गरिरहेको उनी बताउँछन्। होटलको कमाइले आफ्ना बालबालिकालाई उनले सदरमुकाम खलंगाको बोर्डिङ स्कुलमा पनि पढाउन सकेका छन्। उनका दुइटा स्याउ बगैंचासमेत छ। पाँच सय स्याउका बिरुवाले फल दिँदै आएका छन्। ‘धेरैपटक विदेश गएँ तर अहिले विदेशको सीप प्रयोग गरेर गाउँमै परिवारसँगै रमाएर बसिरहेको छु’, उनले भने।

उनको परिवारमा तीन छोराछोरी, श्रीमती र आमा छन्। त्यही परिवारको लालनपालनका लागि उनी विदेश हानिन बाध्य भएका थिए। चित्रबहादुरको होटलका ६ कोठा पछिल्लो समय कहिल्यै खाली भएका छैनन्। जुम्लादेखि डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले पनि उनको होटल राम्रोसँग चलेको हो।

‘सानै उमेरदेखि अर्गानिक खान्कीको स्वाद चखाउने रहर थियो, तर विपन्न पारिवारिक अवस्थाका कारण सम्भव थिएन। खाडी मुलुकको यात्रा गर्न सुरु गरेदेखि गाउँमै केही उद्यम गर्नेुपर्ने आवश्यकता ठानेर यसमा लागें’, उनले भने, ‘मेहनत गरेर आफ्नै घरछेउमा पनि केही गर्न सकिने रहेछ। हामी बेकारमा विदेशमा भौंतारिएका रहेछौं।’

ऊर्जाशील उमेर विदेशमा बिताएका चित्रबहादुर अहिले भने पछुताएका छन्। ‘विदेशमा गएर पनि काम गर्ने राम्रो स्थान मिल्यो। अहिले जुम्लाको गुठीचौरमा विदेशको सीप प्रयोग गरिरहेको छु’, उनले भने।

जुम्ला डोल्पा जाने सडक खण्डमै उनको होटल पर्ने भएकाले सबैको ध्यान केन्द्रित अर्गानिक खान्कीमै पर्ने गरेको छ। विदेशमा रहँदा कमाइ राम्रो थियो। उच्चस्तरको जीवनशैलीमा नै बितेको थियो। चित्रले भने, ‘यता फर्केर पनि उद्यम गर्नुपर्छ जन्मथलोमै राम्रो प्रगति हासिल गर्न सकिन्छ भन्ने उदाहरण बन्न सकेको छु। यसैमा खुसी छु।’

उनी आफूले विदेशमा सिकेको सीप अरू युवालाई समेत सिकाइरहेका छन्। गाउँबस्तीमा पुगेर होटल व्यवस्थापन र स्थानीय परिकार बनाउने तरिकाबारे सिकाइरहेका हुन्छन्, तर अधिकांश समय आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतमै उनको दिन बित्छ।

होटलमा रैथाने आलुका तरकारी, आलुबाट बन्ने परिकार, साग, फापरको रोटी, कोदो, जौ, गहुँ÷मकैको रोटी, कालीमार्सी धानको भात, स्थानीय भटमास÷सिमीको दाल, चिनो, कागुनोको भात, स्थानीय जातका खसी र कुखुराको मासुको स्वाद लिन पाइन्छ। उनको होटलले हाल तीनजना युवालाई रोजगारी पनि दिएको छ।

ग्राहकले अर्डर गरेअनुसारको फापरको केक, जौ र गहुँको बिस्कुट पनि बनाएर घरमै पु¥याउने व्यवस्था उनले गरेका छन्। बाहिरदेखि आयातीत खाद्यवस्तु प्रयोग नगर्ने उनी बताउँछन्। होटलमा जंगलमा पाइने रायो, लिगुरो, पालुंगो र रुघाको साग टिपेर खुवाउने गरिन्छ। जंगली सागपातको स्वाद लिन पाउँदा पर्यटकहरू पनि दंग पर्छन्।

जुम्लाको बहुमूल्य जडीबुटीको चिया पनि पाइन्छ उनको होटलमा। त्यसैले पनि चिया पिउनेको पनि भीड हुन्छ। चुकको पात, लौठसल्ला, बायोजडी, घोडामच्चो र गुन्नाइनोको चिया दिने गरेका छन्। विदेशमा रहँदा मासिक नेपाली डेढ लाख कमाइ गर्ने चित्रबहादुरले परिवारसँगै बसेर त्योभन्दा बढी कमाउन थालेका छन्।

चिसो र तातोपानी, तालिमका लागि हल, वाइफाई, सिसी क्यामरासमेत होटलमा जडान गरिएको छ। पारिवारिक वातावरणमा खान, बस्न र सुत्न पाइने भएकाले होमस्टे जस्तै ठान्छन्। आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण अर्गानिक होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको गुठीचौर– ३ का वडाध्यक्ष इन्द्रबहादुर बुढाले बताए।  

काखैमा सुन्दर पाटन गुठीचौर उपत्यका छ। वर्षायाममा त्यो मैदानमा जाजरकोटदेखि भैंसीपालन गर्न ल्याउने गर्छन्। उनको होटलमा पुग्न सदरमुकाम खलंगादेखि झन्डै ४ घन्टा लाग्छ। जुम्ला डोल्पा सडक त्यही होटल छेउबाटै जाने भएकाले मोटरसाइकल र गाडीबाट सहजै पुग्न सकिन्छ। हिउँदमा जुम्लादेखि डोल्पा जानेहरू धेरै आवतजावत गर्छन्। वर्षायाममा पाटनहरूमा घुम्न जानेको भीड नै हुन्छ।

प्रकाशित: ५ फाल्गुन २०८० १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App