१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

विभेद, गरिबी, बेरोजगारी र हिंसाविरुद्ध ध्यानाकर्षण

सामाजिक आन्दोलनका विषयहरू केन्द्रित गरेर ६० भन्दा बढी घोषणापत्र जारी
विद्या राई

काठमाडौँ — जलवायु परिवर्तन, असमानता, विभेद, गरिबी, आप्रवासन, युद्धजस्ता समसामयिक विषयमा आवाज उठाउँदै विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन सकिएको छ । संकटहरूसँग जुध्दै ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ यही फागुन ३ देखि सुरु भएको विश्व सम्मेलन सोमबार सम्पन्न भएको हो ।

विभेद, गरिबी, बेरोजगारी र हिंसाविरुद्ध ध्यानाकर्षण

सम्मेलनले सामाजिक आन्दोलनका विषयहरू केन्द्रित गरेर ६० भन्दा बढी घोषणापत्र जारी गरेको छ । घोषणापत्रमार्फत सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य समस्या, बेरोजगारी, असमानता, हिंसा, युद्ध आदि विरुद्ध विश्वको ध्यानाकर्षण गराइएको छ ।

‘नवउदारवादी पुँजीवादी व्यवस्थाले विश्वका बहुसंख्यक जनतालाई बहिष्करणमा पारेको छ, सीमित व्यक्तिहरूले आफ्नो हातमा मात्र संसारको स्रोत, साधन र सम्पत्तिमाथि एकाधिकार जमाइरहेका छन्,’ विश्व सामाजिक मञ्चको नेपाल आयोजक समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जनसंख्याको ठूलो हिस्सा गरिबी, बहिष्करण, विभेद तथा विभिन्न खालका समस्याको चपेटामा छ, पृथ्वी जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण संकटमा छ, त्यसैले अर्को विश्वको खोजी गर्ने क्रममा विश्व सामाजिक मञ्चको १६ औं सस्कंरण भव्यताका साथ सम्पन्न भएको छ ।’

सामाजिक मञ्चलाई आर्थिक, सामाजिक रूपान्तरणका लागि विश्वका सामाजिक अभियन्ताहरूको थलो मानिन्छ । समाजमा पिँधमा रहेका महिला, युवा, किसान, दलित, श्रमिक, आदिवासी जनजाति, मधेशी, अपांगता भएका मानिसहरू, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय आदिको आवाजलाई बुलन्द गर्ने उद्देश्य राख्छ । विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीअनुरूपको विश्वमा सबै मानव जातिलाई समान व्यवहार र सम्मानजनक जीवनयापनका लागि यो सामाजिक मञ्च कोसेढुंगा सावित हुने आशा र विश्वास गर्छौं ।’

आयोजक समितिका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सम्मेलनमा ६ महादेशबाटै ९८ देशका एक हजार चार सय बढी सामाजिक संघसंस्थामा र तिनमा आबद्ध करिब ३० हजारभन्दा बढी सामाजिक अभियन्ताहरूले सहभागिता जनाए । विश्व सामाजिक मञ्चमा आर्थिक असमानता, लैंगिक विभेद, मानवअधिकार, खाद्य सम्प्रभुता, जलवायु न्याय र यसका प्रभावहरूजस्ता मुख्य १३ वटा विधामा कार्यशाला, छलफल र अन्तरक्रिया भए । पुँजीवादी व्यवस्थाबाट विश्वमा प्रभावित व्यक्तिहरू, विभिन्न सामाजिक आन्दोलन, मजदुर, किसान, युवा, महिला, दलित, जनजाति, मधेशी, अपांगता भएका व्यक्ति, विभिन्न नागरिक संगठन, सीमान्तकृत समुदायले चार सयभन्दा बढी विभिन्न सभा, सम्मेलन, फोरम, छलफल, बहस, अन्तरक्रियाहरू गरे ।

त्यसबाट आएका निष्कर्षहरूलाई समापनको दिन सामाजिक आन्दोलनहरूले आ–आफ्ना विषयहरू केन्द्रित गरेर ६० भन्दा घोषणापत्र जारी गर्दै सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य समस्या, बेरोजगारी, असमानता, हिंसा, द्वन्द्व, युद्ध आदि विरुद्धमा विश्वको ध्यानाकर्षण गरेका छन् । नेपालमा विश्वव्यापीस्तरको सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै समापन समारोहमा नेपाल आयोजक समितिका नेत्रप्रसाद तिमिल्सिनाले भने, ‘अर्को विश्व सम्भव छ भन्ने कुरा काठमाडौंबाट विश्वसम्म पुर्‍याउन, काठमाडौंको सिकाइलाई लिएर अर्को विश्व खोज्न निरन्तर हिँडिरहनेछौं, त्यो सफलता हामी सबैलाई मिलोस् ।’

सम्मेलनमा सहभागी भएका विश्वभरिका अभियन्ताहरूलाई नेपालले लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्ष, प्राप्त उपलब्धि र त्यसमा सामाजिक आन्दोलनको महत्त्वपूर्ण योगदानबारे जानकारी गराउने मौका पाएको मिडिया समन्वय उपसमितिका तर्फबाट निर्मला शर्माले बताइन् । ‘घोषणापत्रहरूमा नेपालसँग सम्बन्धितलाई, नेपाल सरकारलाई, अन्तरदेशीय र विश्वलाई ध्यानाकर्षण गराउनुपर्नेमा त्यहीअनुसारका दबाबहरू दिने, चुनौती दिने, असमानताहरू घटाएर न्यायमूलक बनाउँ भन्ने नै छन्,’ मिडिया समन्वय उपसमितिका तर्फबाट सुशील विकेले बताए ।

सम्मेलनलाई ल्याटिन अमेरिकी देश क्युवाका राजनीतिक तथा मानवअधिकार अभियन्ता अलेदा ग्वेभेरा, भारतीय मानवअधिकारकर्मी मेधा पाटकर, राजनीतिकर्मी तथा अभियन्ता थोमस वाल्ग्रेन, किसान अधिकारकर्मी बुरी तुन्कारा गाम्बी, मानवअधिकारकर्मी ताला नासिर, अर्थशास्त्री तथा अभियन्ता जोमो कवैम सुन्दरम, दलित अधिकारकर्मी अशोक भारती, किसान अधिकारकर्मी वेन तैजुन, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, एसिया प्यासिफिककी महासचिव सोया यसिदालगायतले सम्बोधन गरेका थिए ।

काठमाडौंबाट विश्वसम्म भन्ने नारा तय गरी सम्पन्न भएको विश्व सामाजिक मञ्चको सम्मेलनमा विश्व महिला मञ्च, वर्ल्ड डिग्निटी फोरम, श्रमिक अधिकार मञ्च, किसान अधिकार मञ्च, आदिवासी जनजाति मञ्च, मानवअधिकार सभा, बालबालिका सभा, अन्तर–महादेशीय युवा मञ्च र संसदीय मञ्चजस्ता मुद्दाहरूमा छलफल तथा बहस भए ।

सम्मेलनमा नै प्रत्यक्ष सहभागी भएर तथा इन्टरनेटका माध्यमबाट प्रसारण गरिएका सत्रहरूमा सहभागी भएर झन्डै पचास हजार सहभागीहरूको उपस्थिति रहेको आयोजक समितिको दाबी छ । छलफल बहसहरूसँगै सांस्कृतिक झाँकीसहितको ऐक्यबद्धता र्‍यालीहरू पनि भएका थिए । अन्तर्राष्ट्रिय परिषद्, एसिया प्यासिफिक सामाजिक मञ्च, नेपाल आयोजक समितिलगायतको समन्वयमा आयोजना भएको थियो । गैरसरकारी संस्था महासंघ नेपालले विश्व सामाजिक मञ्च सफल पार्न एक वर्षसम्म निःशुल्क सचिवालयको व्यवस्था मिलाएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०८० ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?