२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

रुस-युक्रेन युद्धमा मारिएका देवान राईको पाँच महिनापछि सैन्य सम्मानसहित अत्येष्टि

परिवारले शव लैजान पाँउछन्, खर्च आफैँले ब्यहोर्नुपर्छ : रुस
परिवारले खर्च ब्यहोर्न नसक्दा नेपाल सरकारले निर्णय गरेन

काठमाडौँ — रुस–युक्रेन युद्धमा मारिएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको रुसी सैन्यले सम्मानका साथ रुसको राजधानी मस्कोमा अन्त्येष्टि गरेको छ । उनी गत कात्तिक १८ गते रुस–युक्रेन युद्धमा मारिएका थिए । रुसी सेनाले परिवारको सहमति लिई मस्कोस्थित बालाशिखामा गत बिहीबार अन्त्येष्टि गरेको हो । 

रुस-युक्रेन युद्धमा मारिएका देवान राईको पाँच महिनापछि सैन्य सम्मानसहित अत्येष्टि


रुसी सेनाले अन्तिम सलामी दिनुअघि नेपाली दूतावास र समुदायलाई खबर गरेको थियो । दूतावासबाट द्वितीय सचिव सुशील घिमिरे र गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष केशव तिमल्सिना अन्तिम श्रद्धाञ्जली समारोहमा सहभागी भएका थिए ।

कोभिड अघि दक्षिण कोरियामा जान रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा पास भई बसेका राई गत कात्तिकमा अध्ययनका लागि भन्दै कन्सल्टेन्सीमार्फत रुस पुगेका थिए । रुस पुगेर सेनामा भर्ती भएपछि उनको परिवारसँग अन्तिम पटक कात्तिक १७ मा फोनमा कुराकानी भएको थियो । त्यसपछि उनी मारिएको खबर नेपालमा परिवारले मंसिर १ मा पाएको थियो ।

परिवारले नेपाली दूतावासलाई मस्कोमा नै अन्त्येष्टि गर्न अनुमति दिएपछि रुसले सैन्य सम्मानका साथ अन्त्येष्टि गरेको हो । ‘रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ, त्यहाँ ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ एनआरएन रुसका अध्यक्ष तिमल्सिनाले भने । उनका अनुसार परिवारले रुसबाट शव नेपाल लैजान सक्थ्यो । ‘रुसी सेनाले रुसको जुनसुकै ठाउँसम्म शव लगिदिन्छ । यदि परिवारले नेपालमा नै ल्याउन इच्छुक भए अनुमति छ । तर, रुसबाट आफ्नो घरसम्म लैजाने खर्च परिवार आफैंले व्यहोर्नुपर्छ,’ उनले भने, ‘यहाँबाट अफगानिस्तानमा भने शव गइरहेको छ ।’

एक महिनाअघि आत्महत्या गरेका एक नेपालीको शवलाई एनआरएनले रकम संकलन गरी नेपाल पठाइदिएको थियो । त्यसरी शव पठाउन झन्डै पाँच लाख रुपैयाँ लागेको थियो । रुस–युक्रेन युद्धमा मारिएको शव ल्याउन लाग्ने खर्च व्यहोर्न भने नेपाल सरकार तयार भइसकेको छैन ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार युद्धमा मारिएका नेपालीको शव ल्याउने विषयमा रुस सरकारसँग छलफल भइरहेको छ । ‘शव नेपाल ल्याउने विषयमा संवाद भइरहेको छ,’ उनले थपे । परिवारले पनि आर्थिक अवस्था नाजुक भएको भन्दै सरकारले नै व्यहोर्नुपर्ने बताउँदै आएका छन् । रुसले मृतकहरूको परिवारलाई क्षतिपूर्ति दिन आफू तयार रहेको उल्लेख गरे पनि मृतकको शवलाई नेपाल पठाउन खर्च गर्ने सम्बन्धमा तयार भइसकेको छैन । नेपाल सरकारले भने रुसलाई नै नेपालसम्म शव ल्याइदिनका लागि आग्रह गरिरहेको छ ।

कतिपय परिवारले शव आउन अनिश्चित भएपछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिसकेका छन् । कात्तिक २९ गते मारिएका इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको पुसको पहिलो साता नै दाहसंस्कार गरिएको थियो । मंसिर १८ मा परराष्ट्र मन्त्रालयले मोक्तानको मृत्यु भएको औपचारिक पुष्टि गरिदिएको थियो । ‘शव ल्याउन नगरपालिकालाई भन्यौं । परराष्ट्रमा पनि धायौं । अरू नेता र संसादसँग पनि हारगुहार माग्यौं । कतैबाट केही सीप लाग्ने अवस्था नदेखेपछि पुस पहिलो साता काजकिरिया गर्नुपर्‍यो,’ मृतककी भाउजू यांगिला शेर्पाले भनिन् । एनआरएन अध्यक्ष तिमल्सिनाले रुसी सरकारले शव पहिचान गरिसकेको अवस्थामा परिवारले शव नेपाल ल्याउन अनुमति रहेको बताए । ‘युद्धमा मारिएका धेरैको शव सग्लो छैन,’ उनले भने ।

रुसी सेनाको अग्रभागमा खटेर क्याम्पमा आएर बसेका नेपालीका अनुसार रेड जोनमा मारिएकाको शव संकलन गर्न निकै कठिन र चुनौती छ । ‘युद्धमा मारिएका साथीहरूको तुरुन्तै शव उठाउने काम हुँदैन । कुनै कुनै ठाउँमा त महिनौं दिनसम्म पनि लाग्छ । हामीले एक पटक शव उठाउने काम पाएका थियौं । कतिपयको कपडा र हड्डीमात्रै लिएर आयौं । यस्तो शव पहिचान गर्न निकै कठिन छ । कसको भनेर तुरुन्तै पहिचान हुँदैन,’ ती नेपालीको भनाइ थियो ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा मृत्यु हुनेको संख्या १२ जना मात्र घोषणा गरेको छ । उनीहरूको परिवारले हालसम्म पनि शव पाएका छैनन् । १२ जनामध्ये देवान राई र गोरखाका सन्दीप थपलियाको शवलाई औपचारिक रूपमा अन्त्येष्टि गरिएको खबर परिवारले पाएका छन् । परराष्ट्र मन्त्रालयले पुस ४ पछि रुस–युक्रेन युद्धमा मारिएका नेपालीको विवरण सार्वजनिक गरेको छैन । सेनामा भर्ती भई सम्पर्कविहीन र उद्धार गरिपाउँ भन्दै निवेदन दिने परिवारको संख्या भने १५० नाघिसकेको छ ।

नेपालस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई र रुस सरकारलाई नेपालले पटक–पटक आग्रह गर्दा पनि क्षतिपूर्ति दिनेबाहेक अरू केहीमा पनि रुसले सहमति जनाएको छैन । नेपालले दुई पटक कूटनीतिक नोट पठाइसकेको छ भने दुई पटक रुसी राजदूतलाई बोलाएर रुसी सेनामा नेपालीलाई गैरकानुनी रूपमा भर्ना गरेको सम्बन्धमा सोधिसकेको छ । साथै, परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्रीलाई पनि यसबारे विशेष चासो व्यक्त गरिसकेका छन् । युगान्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिईसँग भेट गरेका थिए ।

भेटमा मन्त्री साउदले पुनः रुसी मन्त्रीलाई नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न, भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काउन र मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका थिए ।

परराष्ट्रमार्फत मंसिर १८ मा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाइएको थियो । मन्त्रालयका अनुसार उक्त कूटनीतिक नोटको हालसम्म जवाफ आएको छैन । साथै, युद्धमा मारिएका र गैरकानुनी रूपमा भर्ती गरिएका परिवारले काठमाडौंस्थित रुसी दूतावास अघि पुगेर प्रदर्शन गर्दै दूतावास कर्मचारीलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

प्रकाशित : फाल्गुन ७, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?