२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्नुपर्ने बताएका छन् । शुक्रबार युद्धमा फसेका नेपालीका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले आफूले पनि त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । 

युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : नेपाल

सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको भन्दै उनले भने, 'रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे ? रहर हो कि बाध्यता ?'

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अभियानका संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएको भन्दै यसको अन्त्यका लागि सम्पूर्ण नेपालीको चिन्ता र सरोकार भएकाले सबै दलको साझा दृष्टिकोण बन्नुपर्ने विचार व्यक्त गरे ।

ध्यानाकर्षण पत्रमा रुसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाति नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उचित उपचार सेनामा रहेका आफ्ना नागरिकको जीवन रक्षाका लागि सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख छन् ।

प्रकाशित : माघ २६, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?