२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रुसी सेनामा कार्यरत नेपाली फर्काउन रुससँग कुरा भइरहेको छ : परराष्ट्रमन्त्री

‘आफ्ना नागरिकप्रति सरकार सधैं जिम्मेवारी हुनुपर्छ र हुन्छ’

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएर काम गरिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले रुस सरकारसँग कुरा गरिरहेको जानकारी दिएका छन् ।

रुसी सेनामा कार्यरत नेपाली फर्काउन रुससँग कुरा भइरहेको छ : परराष्ट्रमन्त्री

रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले भने,‘रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको भइरहेको छ । सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेका पनि छौं ।’

परराष्ट्रमन्त्री साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिककाप्रति राज्यको दायित्व रहेको बताए ।

परराष्ट्रमन्त्री साउदले भने,‘कानुनी रुपमा गएको भए हुन्थ्यो । गैरकानुनी (बाटोबाट) गएका छन् । जसरी गएका भए पनि उनीहरुकाप्रति राज्यको दायित्व छ । आफ्ना नागरिकप्रति सरकार सधैं जिम्मेवारी हुनुपर्छ र हुन्छ ।’ साउदले रुसी सेनामा भर्ती भएकाहरुलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी नहुने उल्लेख गरे । उनले भने,‘इमान्दारितापूर्वक प्रयास गरिरहेको छु । गरिरहने छु ।’

उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए । हालसम्म रुसी सेनमा भर्ती भएका नेपालीहरु कम्तिमा पनि १२ जनाको मृत्यु भइसकेको छ ।

परराष्ट्रमन्त्री साउदले परिवारका सदस्यहरुसामु भने,‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ ।’

परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए ।

उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रह गरे । उनले घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने उल्लेख गरे ।

साउदले रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा बताए । उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रुअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको पनि जानकारी दिए ।

साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि उल्लेख गरे ।

प्रकाशित : फाल्गुन १५, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?