• ५ जेठ २०८१, शनिबार

‘सीप भएमा खाली हात बस्नु पर्दैन’

blog

पानी तान्ने मोटर बनाउँदै धनबहादुर राई तथा अन्य जनशक्ति । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, फागुन १६ गते । न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ । 

उहाँसँग भएको सीपले कहिले खाली बस्न पाउनु भएको छैन । बिहान उठेदेखि बेलुकासम्म काममै व्यस्त रहँदै आउनुभएको उहाँले व्यस्ततासँगै रमाइलो हुनेगरेको बताउनुभयो । 

वैदेशिक रोजगारीका लागि १२ वर्ष साउदीमा बसेर ९ वर्ष अगाडि घर फर्किनुभएका राई नेपाल फर्केपछि के गर्ने भन्ने सोचमा थिए । बाबु–बाजेले गरिआएको कृषि पेसामा पनि रमाउन पनि खोजे तर कृषिप्रति चाख नभएकाले लामो समयसँग कृषि पेसालाई अङ्गाल्न सक्नुभएन । 

आफ्नै दाजु तेजकुमार राईले राजाबासमा खोलेको मोटरबेन्डिङदेखि पङ्खा, रेफ्रिजेरेटर बनाउने काममा दाजुलाई सघाउन थालेका उहाँले दाजुसँगै सीप सिकेका उहाँले दाजुकै काम सम्हालेर धनबहादुरले मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

धनबहादुरलाई त्यही सिपले मासिक ४० देखि ६० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । मेहनती धनबहादुर बिहान उठेदेखि बेलुकासम्म काममै व्यस्त रहनुहुन्छ । उहाँसँग पिलास, टेस्टर, पेचकस र केही साइजका तामाका तारहरू लगायतका सामानहरू उहाँको साथमै भइरहन्छ । 

राईले भन्नुभयो, “साउदीमा त्यही २५ देखि ३० हजार कमाउन आठ घण्टा खट्नुपथ्र्याे । आफ्नै घरमा बसेर विदेशको जति कमाइ गरिरहेकै छु ।” मेहनती र लगनशील धनबहादुरले इपिएस प्रणालीबाट कोरियन भाषा पनि पास गरे पनि उहाँ कोरिया भने छिर्न सक्नु भएन । ‘मेरो सबै कागजपत्र पठाए पनि मेरो कागजपत्र रिसिभ भएन, आफ्नै देशमा काम गर्न लेखेको रहेछ’ उहाँले भन्नुभयो ।

धेरै युवा अहिले गाउँमा बेरोजगार भएर बस्नुभएको छ । लगनशील भएर केही न केही सीपहरू सिक्ने हो भने यहीँ धेरै अवसर छन् । ‘नेपालमा काम गरेर ३० हजार कमाउन लाज लाग्छ, विदेशमा त्यत्ति नै रकम कमाउन तछाड-मछाड गरेर जान्छन्’ उहाँले भन्नुभयो । 

धनबहादुरले भन्नुभयो, “बर्सेनि छापाखानामा काम गर्ने मिस्त्री, कपाल काट्ने हजाम, गाडीहरू बनाउने मिस्त्रीले नेपालबाट धेरै पैसा लिएर जान्छन्, खै त हामी नेपाली युवाको त्यतातिर ध्यान गएको ? युवाले टेक्निसियन काम सिक्ने हो भने कहिल्यै खाली हात बस्नु पर्ने थिएन ।” 

वराहक्षेत्र १० प्रकाशपुरकै तुलसी बन्जरा विद्युत जडानका टेक्निीसियन तुलसी भन्नुहुन्छ, ‘बेलैमा सीप सिकेको थिए । आफू मात्र होइन, अहिले अरूलाई पनि काम दिने गरेको छु ।’ गरेको कामबाट राम्रै आम्दानी भइरहेको उहाँले सुनाउनुभयो । 

त्यस्तै, प्रकाशपुरकै राजकुमार राईले पनि विद्युत वायरिङको गाउँमै काम गर्दैआएका राजकुमारले भन्नुभयो, ‘गाउँमा विद्युत वायरिङ सिकाउन आउँदा तीन महिना सिकेको थिएँ । सीप हुँदाको फाइदा भइरहँदा कोहीलाई खाली हात बस्नु पर्दैन ।’