• ६ जेठ २०८१, आइतबार

युएई रोजगार मेलामा चौसट्ठी म्यानपावर सहभागी

blog

काठमाडौँ, फागुन २१ गते । वैदेशिक रोजगार बोर्डको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता/एजेन्सी र श्रमिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित सङ्घले शनिबार युएईमा १७ वर्षपछि उक्त मेलाको आयोजना गरिएको हो ।

सो मेलामा ६४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र कर्मचारीसहित दुई सय बढीको सहभागिता रहेको थियो । जब फेयरमा युएईका रोजगारदाता, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेस्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एसोसिएसन र आधिकारिक नेपाली चेम्बरसहित स्थानीय रोजगारदातालाई अवलोकनका लागि आमन्त्रण गरिएको थियो । 

सो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, श्रमसचिव केवलप्रसाद भण्डारीले जब फेयरमा रहेका स्टल अवलोकन गर्नुभयो । जतिसक्दो छिटो साउदी र मलेसियामा पनि जब फेयर गरिने उहाँहरूको भनाइ छ । 

रोजगार मेलामा नेपाली राजदूत तेजबहादुर क्षेत्री, युएईका श्रम डिभिजन प्रमुख अहमेद अलयासी, इन्टरनेसनल रिलेसन स्पेसलिस्ट अब्दुल लाजिज अल सामसीले नेपाली श्रमिकको सिप, श्रमिकले निर्वाह गर्ने जिम्मेवारीप्रति आफ्नो धारणा व्यक्त गर्नुभयो । 

पहिलो पल्ट नेपालले १७ वर्षअघि सन् २००७ जुन ६ मा युएईमै जब फेयर आयोजना गरेको थियो । दूतावासका अनुसार युएईमा नेपालबाट परम्परागत निर्माण श्रमिक, सुरक्षा गार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी पाँच लाख बढी कार्यरत रहेका छन् । चालु आर्थिक वर्षमा युएई पहिलो श्रम गन्तव्य बनेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको सात महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि लागि एक लाख एक हजार ४६१ जनाले श्रम स्वीकृति लिएको जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ ।