कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

९० लाख तिरेर अमेरिका पुगेका वसन्त क्षयरोगले थलिए

महेश केसी

रुकुम पूर्व — मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका वडा नं. ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा सिकिस्त बिरामी परेका छन् । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत छन् ।

९० लाख तिरेर अमेरिका पुगेका वसन्त क्षयरोगले थलिए

२०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको भन्दै श्रीमान् बिरामी भएको खबरले मर्माहत भएको बताइन् ।

अमेरिका पुगेको ११ महिनापछि अस्पताल भर्ना गरिएका वसन्तको अवस्था गम्भीर रहेको बताउँदै उनकी भाउजु अस्मिता शर्माले अहिले न्युयोर्कको जर्सीस्थित अस्पतालमा उपचार भैरहेको जानकारी दिइन् । ‘टिबीको संक्रमण भएको अस्पतालले बताएको छ । यसको संक्रमण फोक्सोबाट बढेर दिमागको बायाँ भागमा समेत पुगिसकेको भनिएको छ’ उनले भनिन्, ‘सुरुदेखि नै भेन्टीलेटरमा राखेर उपचार भैरहेको छ ।’

अवैध रुपमा विभिन्न देश हुँदै अमेरिका पुगेका वसन्तसँग त्यहाँ बस्न–रहनका लागि कुनै आधिकारिक कागजात नभएको उनका साथी लक्ष्मण शर्माले बताए । ‘वर्क पर्मिट, स्वास्थ्य बीमा आदि केही पनि छैन । यसकारण सुरुमा त अस्पताल भर्ना गर्न पनि कठिन भयो,’ उनले भने, ‘पछि वसन्तको भाउजुले जिम्मेवारी लिएर अस्पताल भर्ना गरियो ।’

वसन्तसँगै अमेरिका पुगेका पोखराकै मिलन मगरले मेक्सिकोमा छँदा नै वसन्त निकै कमजोर भइसकेको बताए । उनले भने, ‘ईमिग्रेसनबाट निस्केर हामी आ–आफ्नो काम गर्ने ठाउँतर्फ लाग्यौं । अहिले केही महिनाअघि मात्रै उनी अस्पताल भर्ना भएको भन्ने खबरले दुःख लागेको छ ।’

वसन्तको उपचार अहिले जसोतसो भैरहेको भए पनि यता घर–परिवारमा चिन्ता बढेको छ । ‘यत्रो पैसा ऋणको ब्याजले दिनदिनै डुबाउँदैछ । कमाउने भनेर गएका मान्छेको हालत त्यस्तो भयो । अमेरिका नगएर यतै बसेको भए बरु समयमै उपचार हुन्थ्यो कि,’ श्रीमती उर्मिलाले भनिन्, ‘गत मंसिरमा पछिल्लोपल्ट उहाँसँग कुरा भएको थियो । बिरामी छु भन्नुहुन्थ्यो । मैले उपचार गर्नु भने । त्यसपछि मेरो कुरा भएको छैन ।’

परिवारका अनुसार भेन्टिलेटरमा उपचार गरिरहेका वसन्तको उपचार खर्च एक दिनमा करिब ४ हजार डलर जति हुने गरेको छ । अहिले लगालग उपचार भैरहेको र पछि निको भएपछि विभिन्न उपाय गरेर उक्त रकम तिर्नुपर्ने अवस्था आउने भन्दै उनका साथी लक्ष्मणले आफूहरुले अमेरिकामा ‘वसन्त शर्मा बचाउ अभियान’ समेत चलाएको बताए ।

‘यहाँ रहेको नेपालीहरुबाट सकेको सहयोग संकलनको काम भइरहेको छ । अहिलेसम्म त्यही ६–७ लाख जति जम्मा भयो होला ।’ उनले भने, ‘यहाँ सबैलाई काम नगरी माम पाक्दैन । बिरामी हेर्न जाने र डटेर सहयोग जुटाउन पनि सजिलो छैन । तर हामीहरुले सकेको गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन १२, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?