२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इजरायलमा मारिएका र बन्दी बनाइएका नेपालीका परिवारलाई भत्ता

मृतक १० जना र हमासको कब्जामा रहेका विपिन जोशीको परिवारलाई इजरायल सरकारद्वारा भत्ता दिन सुरु
इजरायली भूमिमा पाहुनाका रूपमा आउँदा नेपालीको मृत्यु भएको हो । त्यसैले इजरायल सरकारले १० जनाको परिवार र अहिले हमासको कब्जामा रहेका जोशीको परिवारलाई भत्ता दिन थालेको छ । -हनान गोदर, नेपालका लागि इजरायलका राजदूत 

कञ्चनपुर, काठमाडौं — प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा मारिएका र अहिले पनि कब्जामा रहेका नेपालीका परिवारलाई इजरायल सरकारले भत्ता दिन थालेको छ । गत असोज १० मा हमासको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थी र कब्जामा रहेका विपिन जोशीको परिवारलाई इजरायलले आजीवन भत्ता दिन सुरु गरेको हो ।

इजरायलमा मारिएका र बन्दी बनाइएका नेपालीका परिवारलाई भत्ता

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले पीडित परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने निर्णय गरेको बताए । ‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रूपमा आउँदा नेपालीको मृत्यु भएको हो,’ उनले भने, ‘त्यसैले इजरायल सरकारले १० जनाको परिवार र अहिले हमासको कब्जामा रहेका जोशीको परिवारलाई भत्ता दिन थालेको छ ।’

कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा मारिएका थिए । मृत्यु हुनेमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पचनाली–३ डोटीका राजन फुलारा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी छन् ।

‘राहतले घर चलाउन केही सजिलो’

चार वर्षकै उमेरमा बुबाको मृत्युपछि दीपेशराज विष्टलाई आमाले जेनतेन हुर्काइन् । उच्च शिक्षा अध्ययनका क्रममा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि संकायमा भर्ना भएका विष्ट प्रयोगात्मक अभ्यासका लागि ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता इजरायल पुगेका थिए । त्यतिबेला भने परिवारमा केही खुसी छाएको थियो । तर त्यो खुसी एक महिना नपुग्दै दुःखमा परिणत भयो ।

गत असोज २० मा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाटै पढ्न गएका १० जना विद्यार्थीको मृत्यु हुँदा विष्ट पनि परेका हुन् । जसमध्ये ७ जना सुदूरपश्चिमकै छन् । उनीहरूको शव ल्याउन पनि दुई साताभन्दा बढी समय लागेको थियो । विष्ट परिवारलाई एकातिर छोरा गुमाएको पीडा छँदै थियो भने अर्कोतिर परिवारको गुजारा चलाउनसमेत समस्या भइरहेको थियो ।

दार्चुलामै राहत शिक्षकका रूपमा काम गरिरहेकी आमा पार्वती अझै पीडा बिर्सिन सकेकी छैनन् । दीपेशका भाइ वसन्त धरानमा एमबीबीएस पढिरहेका छन् । उनको खर्च जुटाउनसमेत समस्या भएको थियो । इजरायल सरकारले राहत उपलब्ध गराएपछि भने केही सहज भएको परिवारजनको भनाइ छ । ‘छोरै रहेन, पैसाले के गर्नु ?’ दीपेशकी काकी जयन्ती विष्टले भनिन्, ‘राहतले घर–परिवार चलाउन केही सजिलो होला, कान्छो बाबुलाई पढाउन सकिने भयो ।’

विष्ट परिवारले एक महिनाअघि करिब १६ लाख राहत रकम पाएको थियो । आमा पार्वतीकै खातामा इजरायली दूतावासले उक्त रकम पठाएको हो । इजरायल सरकारले मृत्यु भएका परिवारलाई मासिक रूपमा राहत उपलब्ध गराउँछ । तर, विष्ट परिवारले कति महिनाको कति रकमका हिसाबले राहत पाइयो भन्ने थाहा पाएका छैनन् । ‘मासिक दिने हो कि एकमुष्ठ दिने हो केही थाहा छैन,’ जयन्तीले भनिन् । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बसोबास भएको विष्ट परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ मा पनि बसोबास गरिरहेको छ ।

डोटीको पचनाली–३ का राजन फुलाराको परिवारलाई पनि इजरायली सरकारले उपलब्ध गराएको भत्ताले केही सजिलो भएको छ । एक साताअघि मात्रै राहत रकम खातामा आएको थाहा पाएको राजनका बुबा घनश्याम फुलाराले बताए । बुढेसकालको एक मात्र सहारा छोरा राजनको इजरायलमा मृत्युपछि फुलारा परिवार शोकसँगै अभावको पीडा पनि झेलिरहेको थियो । फुलाराका वृद्ध बुबाआमा र श्रीमती गरी तीन जनाको परिवार छ । बुढेसकालमा आम्दानीको स्रोत पनि अन्य केही छैन । ‘अब छोरा त फर्किंदैन, त्यसको पीडाले सताइरहन्छ,’ फुलाराले भने, ‘बुढेसकालमा खान लाउनै समस्या हुने अवस्थामा राहतले हातमुख जोर्न सजिलो भयो ।’ उनले राहत रकमबाटै कैलालीस्थित टीकापुर कृषि क्याम्पसमा डेढ लाखको अक्षय कोषसमेत स्थापना गर्ने तयारी गरेका छन् । यस विषयमा क्याम्पससँग पनि कुरा भएको उनले बताए ।

कैलाली जोशीपुरका बेजुलाल चौधरीले पनि राहत रकम आएको सुनेको बताए । तर, कति आयो भन्नेबारे थाहा भइनसकेको उनले सुनाए । ‘घर भत्किएर बनाउनमै व्यस्त छु, बैंकमा जान पाएको छैन,’ उनले भने । आफूले इजरायली दूतावासबाट फोनमार्फत राहत रकम आएको थाहा पाएको बताए । बेजुलालका एक्लो छोरा आशिषको हमासको आक्रमणमा मृत्यु भएको थियो । अहिले घरमा उनका बुबाआमा मात्रै छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले इजरायल सरकारको नीतिअनुसार मृतक, बेपत्ता र घाइतेका परिवारले राहत पाइरहेको बताए । उनका अनुसार आमाबुबा, श्रीमती, छोराछोरी र २१ वर्षमुनिका भाइबहिनीले पनि राहत पाउने विषयमा कृषि क्याम्पसमै छलफल भएको थियो ।

‘राहतभन्दा छोराको अवस्था पत्ता लगाइदिए हुन्थ्यो’

हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्दले राहतभन्दा पनि छोराको उद्धारमा पहल गरिदिन आग्रह गरे । उनले राहत आएको सुने पनि त्यसबारे चासो दिएका छैनन् । ‘छोराको उद्धार गरिदिनुपर्‍यो, हामीलाई अरूथोक भन्दा पनि छोरा चाहियो,’ जोशीले भने, ‘छोराको खबर कतैबाट सुनिन्छ कि भनेर बसेका छौं, यतिका दिनसम्म केही खबर पाइएन ।’

इजरायली दूतावासले जोशी परिवारको खाता नम्बर मागेको थियो । उक्त खातामा रकम पठाएको जानकारी पनि गरेको छ । तर रकम कति आयो भन्नेबारे उनले बताएनन् । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदलाई उनको परिवारले तीनपटक भेटेर उद्धारका लागि आग्रह गरेको थियो । ‘परराष्ट्रमन्त्री यही जिल्लाका थिए, सोध्न त सजिलो थियो,’ जोशीले भने, ‘अब त्यही सोध्न पनि हाम्रो पहुँच छैन ।’ सरकारले जोशीको रिहाइका लागि इजरायल, कतार र अन्तर्राष्ट्रिय मानव सहायतासम्बन्धी संस्थाहरूलाई आग्रह गरेको छ । तर इजरायल र हमासबीचको युद्ध नरोकिएका कारण जोशीसहित एक सयभन्दा बढी मुलुकका नागरिकलाई हमासले बन्दी बनाएरै राखेको छ ।

प्रकाशित : चैत्र ५, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?