६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रुसी सेनाबाट भागेर नेपाल फर्किए कञ्चनपुरका सिजन

सांकेतिक तस्बिर।

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।

‘पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे’, उनले भने, ‘त्यसपछि भागेर आएको।’

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए। उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’ मा रुस गएर सेनामा भर्ती भएका थिए।

परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए। अहिले घर फर्किँदा रित्तो हात हुनु परेको छ।

‘घरमा ३० लाख ऋण थियो। बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन। स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो’, उनले भने, ‘परिवारको बाध्यताले युद्धको भुँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन।’

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए।

उनका अनुसार घर धितो राखेर सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन्। सँगै रुस गएका अन्य १० साथी युद्ध भूमिमै ढलेको उनी बताउँछन्।

‘त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन। सँगैका सबै साथी मरे। डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ’, उनी भन्छन्, ‘दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे।’

मासिक अढाई लाखदेखि पाँच लाखसम्म आम्दानी लगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ। केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले सुनाए।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।

मस्कोमा एक दलाललाई दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन्। ‘तीन जना भागेर मस्को पुगेका थियौँ। सँगै दिल्लीको टिकट काटिएको थियो’, सिंह भन्छन्, ‘तर विमानमा दिल्ली आउँदा एक्लै थिए। पछि बुझ्दा एक जनालाई अध्यागमनले समातेको रहेछ।’

रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी सुनाउँछन्।

प्रकाशित: ४ चैत्र २०८० २१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App