२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

रेमिट्यान्स बढ्दा र आयात घट्दा थुप्रियो विदेशी मुद्रा सञ्चिति

सुधारिएको बाह्य क्षेत्रले दियो सरकारलाई खर्च गर्ने पर्याप्त अवसर, ऋण काढेरै भए पनि सरकारले लगानी बढाउनुपर्ने विज्ञको सुझाव
यज्ञ बञ्जाडे

काठमाडौँ — रेमिट्यान्समा निरन्तरको वृद्धि र आयातमा कमी आउँदा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले हरेक महिना नयाँ कीर्तिमानी बनाउँदै आएको छ । गत माघसम्मको तथ्यांक हेर्ने हो भने मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १९.९ प्रतिशतको वृद्धि हो । गत असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर थियो ।

रेमिट्यान्स बढ्दा र आयात घट्दा थुप्रियो विदेशी मुद्रा सञ्चिति

०८० असार मसान्तमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७१ करोड रहेकामा गत माघ मसान्तसम्म १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको आइतबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत माघसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो ।

०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य थियो ।

नाजुक सरकारी वित्तका कारण आन्तरिक अर्थतन्त्रको शिथिलता कायमै रहे पनि बढ्दो रेमिट्यान्स र घट्दो आयातले निरन्तर रूपमा शोधनान्तर बचत र चालु खाता बचतमा छन् । यसरी बाह्य क्षेत्र बलियो रहेका बेला आन्तरिक अर्थतन्त्रको शिथिलता चिर्न सरकारले ठूलो मात्रामा पुँजीगत खर्च बढाउनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘सरकारलाई पुँजीगत खर्च बढाउन ठूलो अवसर प्राप्त छ,’ उनी भन्छन्, ‘अब अवसरको भरपूर उपयोग गर्नुपर्छ ।’

सरकारले लगानी गर्न ढिलासुस्ती गर्दा निजी क्षेत्र झन् पछि हट्ने भएकाले पुँजीगत खर्च बढाउन सरकारले आलटाल गर्न नहुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय अनुसन्धान विभाग प्रमुख शिवराज अधिकारीको भनाइ छ । ‘भुक्तानी बाँकी रहेको दायित्व राफसाफ गरेर सरकारले अर्थतन्त्र चलायमान बनाउनुपर्छ,’ उनले भने । चालु आर्थिक वर्षमा रेमिट्यान्समार्फत ८ खर्ब ३९ अर्ब रुपैयाँ भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढी हो । यद्यपी गत पुषको तुलनामा भने माघमा रेमिट्यान्स आप्रवाहमा १५ अर्बले कमी आएको छ । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ थियो ।

गत माघसम्म शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो ।

‘गत वर्षको सोही अवधिमा ९७ करोड ५७ लाख अमेरिकी डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोड डलरले बचतमा छ,’ प्रतिवेदनमा उल्लेख छ । गत माघमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ५.०१ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ७.८८ प्रतिशत थियो ।

गत माघमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ र गैर–खाद्य तथा सेवा समूहको ३.८५ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११, दाल तथा गेडागुडीको ११.१५, दुग्धपदार्थ तथा अन्डाको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ र तरकारीको ७.५८ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । सोही अवधिमा घिउ तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको जनाइएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१, विविध वस्तु तथा सेवाको ९.१५ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । तर यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको प्रतिवेदनले औंल्याएको छ । गत माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०८० ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?