कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

डम्बरसिं राई

खोटाङ — यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । यूएई पठाएर अलपत्र पार्ने काठमाडौंस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो ।

यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

यूएईमा १९ जना युवा अलपत्र परेको सूचना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावरले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । यूएईस्थित दूतावासका श्रम सहचारी आविद अन्सारीले म्यानपावरलाई कारबाही गर्न विभागलाई पत्राचार गरेका हुन् । ‘नेपाली श्रमिकहरू जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पहल नगरको देखिएकाले म्यानपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

अलपत्र परेका १९ मध्ये खोटाङका दुई युवा छन् । उनीहरूको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । जन्तेढुङ्गा गाउापालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौंस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिमार्फत माघ २७ गते यूएई पुगेका उनीहरूले कामदार करारनामा अनुसार काम र तलव सेवा सुविधा नआएको र एक सातादेखि भोकै बस्नु परेको भन्दै उनीहरूलाई उद्धार गर्न माग गर्दै निवेदन परेको थियो । उनीहरूले उक्त मेनपावर कम्पनीलाई एक लाख दश हजार रूपैयाा तिरेर यूएई पुगेको आफन्तले बताएका छन् । यसमध्ये परशुराम फागुन ११ गते र राजकुमार माघ २७ गते यूएई पुगेका हुन् ।

उनीहरूलाई मेनपावर कम्पनीले क्लिनरको काम लगाउने भन्दै फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । तर सम्झौताअनुसार कम्पनीमा नलगी सप्लाइमा फरक–फरक काम लगाउने, नियमित काम नदिने, काम गरेको पैसा पनि नदिएको भन्दै आफन्तले प्रशासनमा उद्धारको माग गरेका थिए । त्यसका आधारमा वैदेशिक रोजगार विभागले सम्वन्धित म्यानपावरलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन पत्र पठाएको थियो ।

कामदार करारनामा अनुसार काम र पारिश्रमिक नपाउदा खोटाङका दुई जना सहित सुर्खेतका भविष्य जिमी, पाल्पा तिनाउका देवसिं सुनारी, उदयपुरका किशोर खत्री र मानबहादुर कार्की, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालिकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करण सरदार र पदम नेपाल, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मानबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, गोरखाका आशबहादुर गुरुङ, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु अलपत्र परेका हुन् ।

प्रकाशित : चैत्र १३, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?