कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रुसी सेनामा भर्ती भएकालाई फिर्ता ल्याइदिन परिवारको आग्रह

नवीन पौडेल

परासी — सीटीईभीटीबाट इलेक्ट्रिसियनको तालिम प्राप्त प्रशिक्षक, आफ्नै घरमा चलिरहेको फेन्सी पसल । आमा, श्रीमती र एक छोरासहितको सानो परिवार । पूर्वी नवलपरासी देवचुली नगरपालिका–१३ का ३६ वर्षीय भरत न्यौपानेलाई उतिधेरै हन्डर र ठक्कर थिएन । तर मनमा थिर पनि थिएन ।

रुसी सेनामा भर्ती भएकालाई फिर्ता ल्याइदिन परिवारको आग्रह

चिनेजानेका सबैजसो साथीभाइ विदेश गएको देखेर उनी घरमै बसेर भइरहेको राम्रो आम्दानीबाट पनि खुसी भइरहेका थिएनन् । कामको खोजीमा एक पटक दुबई पुगे पनि भनेजस्तो नभएपछि तीन महिनामै नेपाल फर्के । दुबई जाँदाको खर्च, विदेशमै गएर कमाउने हुटहुटीबीच उनी एक्कासि दलालको प्रलोभनमा परेर रुस हान्निए । कतिसम्म भने उनले रुसी सेनामा भर्ती हुने कुरा घरमा समेत भनेका थिएनन् ।

परिवारका अनुसार दसैंपछि लगत्तै धनगढीमा इलेक्ट्रिसियनको तालिम छ भनेर निस्किएका न्यौपाने काठमाडौंबाट पर्यटक भिसामा दुबई हुँदै रुस जाने योजनामा रहेछन् । तर, त्रिभुवन विमानस्थलमा पर्यटक भिसामा जाने नेपालीलाई कडाइ गरेको थाहा पाएपछि उनी दलालको सहयोगमा भारत हुँदै रुस पुगे । साता दिनपछि श्रीमती सुधालाई ह्वाट्सएपमा कल गरे तर आफू रुस पुगेको बताएनन् । बरु तालिम भइरहेको र गाउँमा फोन नलाग्ने भन्दै झुक्याए । एक दिन कुरै कुरामा सुधाले श्रीमान् नेपाल नभएको पत्ता लगाइन् । अनि थाहा पाइन्, साथीभाइको लहैलहैमा लागेर श्रीमान् रुसी सेनामा भर्ती भई तालिम गरिरहेको ।

श्रीमान् रुसी सेनामा भर्ती भएको खबरले आत्तिएकी सुधा हिजोआज झनै अशान्त छिन् । ‘कहिले १ महिना कहिले डेढ महिनामा मात्र सम्पर्क हुन्छ । मन आत्तिन्छ,’ उनले भनिन् । सरकारले जतिसक्दो रुसी सेनामा भर्ती भएका नेपाली नागरिकहरूलाई फिर्ता ल्याउन पहल गरोस् भन्ने उनको अपेक्षा छ ।

भरतकै जस्तो समस्या छ, पूर्वी नवलपरासी विनयत्रिवेणी–७ का ३८ वर्षका भीमबहादुर विकको परिवारमा पनि । नेपाली सेनाबाट सेवा निवृत्त भीम दलालको प्रलोभनमा परेर दसैंअघि नै रुस पुगी भर्ती भए पनि पछिल्लो ६ महिनायता परिवारको सम्पर्कमा छैनन् । उनका दाइ नवराजले श्रीमती र दुई छोराका अभिभावक रुसमा गएर लामो समय सम्पर्कविहीन हुँदा परिवार चिन्तामा परेको बताए । उनले भने, ‘भाइको खोजीका लागि गृह, परराष्ट्रलगायतका सरकारी निकाय धाइरहेका छौं । नेपाल सरकारले जसरी भए पनि फिर्ता ल्याउन पहल गर्नुपर्‍यो ।’

रुस पुगेर सम्पर्कविहीन भएका र बेलाबखत मात्रै परिवारको सम्पर्कमा आउनेहरू पनि आफ्नो उद्धारबारे खुलेर बोलिरहेका देखिन्नन् । देवचुलीका एक परिवारले आफ्नो आफन्ती रुसी सेनामा भएको र तत्काल उद्धार गर्नुपर्ने भए पनि मिडियामा समाचार आउँदा ती व्यक्तिमाथि निगरानी बढ्ने भएकाले खुलेर यसबारे बोल्न गाह्रो भइरहेको बताए । कान्तिपुरसँग सम्पर्कमा आएकी एक महिलाले भने नाम उल्लेख नगर्ने सर्तमा सरकारले फिर्ता ल्याउन नसके दलालमार्फत पनि श्रीमान् फिर्ता ल्याउन पहल थाल्ने बताइन् ।

प्रकाशित : चैत्र २१, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?